बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एलन मस्कले गुमाए विश्वकै धनीको उपाधि

मङ्गलबार, २२ फागुन २०८०, १२ : १४
मङ्गलबार, २२ फागुन २०८०

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि गुमाएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका मालिक जेफ बेजोस मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको शेयर मूल्य सोमबारको कारोबारमा एकै दिन ७ दशमलव २ प्रतिशतले घटेपछि मस्कको नेटवर्थ घटेको थियो । सूचकका अनुसार मस्कको नेटवर्थ अहिले १ खर्ब ९७ अर्ब ७० करोड डलर छ । सोमबार एकै दिन मस्कले १७ अर्ब ६० करोड डलर बराबरको नेटवर्थ गुमाएका छन् ।

सूचीको पहिलो स्थानमा रहेका बेजोसको नेटवर्थ भने २ खर्ब डलर रहेको छ । अघिल्लो दिनको कारोबारमा बेजोसको नेटवर्थ ५० करोड डलर घटेको थियो । बेजोस सूचिको शीर्ष स्थानमा उक्लिएको यो सन् २०२१ यता पहिलो पटक हो । कुनै समय बेजोसको तुलनामा मस्कसँग १ खर्ब ४२ अर्ब डलर बढी सम्पत्ति थियो । तर एमाजन र टेस्लाको शेयर विपरित दिशामा दौडिन थालेपछि यो अन्तर साँघुरिँदै गयो ।

सन् २०२२ को अन्त्ययता एमाजनको शेयर दोब्बर भएको छ भने सन् २०२१ को उच्च बिन्दुको तुलनामा अहिले टेस्लाको शेयर मूल्य ५० प्रतिशत घटेको छ । शाङ्हाईमा रहेको कारखानाबाट टेस्लाको ढुवानी घटेर एक वर्षयताकै न्यून स्तरमा झरेको प्रारम्भिक तथ्यांकले देखाएपछि सोमबार टेस्लाको शेयर दबाबमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप