शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश ट्रफी क्रिकेट : कोशी र सुदूरपश्चिम विजयी

मङ्गलबार, २२ फागुन २०८०, २१ : ४८
मङ्गलबार, २२ फागुन २०८०

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । 

मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्‍यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रन बनायो । एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय दुई  रन मात्र बनायो । 

कोशीका लागि अङ्कीत सुवेदीले ४८, सुजन थपलियाले ३८, समिर कार्कीले २० र दिपेश कँडेलले १४ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चनराले दुई तथा प्रकाश जैँशी, उनिश ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दीपेन्द्र रावतले एक एक विकेट लिए । 

यस्तै कर्णालीका लागि एक सय दुई रन बनाउने क्रममा हिमांशु शाहीले ३४, दिनेश अधिकारीले ११ तथा दिवान पुनले १० रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादव र दिपेश कँडेलले तीन तीन तथा फिर्दोश अन्सारीले दुई विकेट लिए । 

यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्‍यो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र बनाउन सक्यो । 

सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ र खड्ग बोहराले ४१ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङ र सन्दीप क्षेत्रीले एक एक विकेट लिए । 

यस्तै गण्डकीका लागि एक सय ३२ रन बनाउने क्रममा दिपक डुम्रेले ४०, ईश्वर क्षेत्रीले १८, समिर कँडेलले १४, सन्दीप क्षेत्रीले १२, गोविन्द विकले ११ र दिनेश बुढामगरले १० रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले तीन तथा शेर मल्ल, नरेन साउद र नारायण जोशीले दुई दुई विकेट लिए ।  

आगामी  चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप