शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरको मुखको क्यान्सरको राष्ट्रव्यापी सचेतना अभियान सुरु

बिहीबार, २४ फागुन २०८०, १३ : ३५
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरको  राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको छ ।  एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग (DFAT) को संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको हो । 

यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा रहेको सरकारी तथ्याङ्क छ । 

यही मार्च देखि सञ्चालन हुने  सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन् । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी प्रवाह गरिने जनाएको छ । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् ।

यस सचेतना अभियान अन्तर्गत सञ्चालन गरिने मुख्य मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने, पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढङ्गले पुर्‍याउन विभिन्न सरकारी निकायहरू तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने, टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम टक शोहरू सञ्चालन गर्नुका साथै रेडियो स्टेसनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने, अभियानलाई प्रवर्द्धन गर्न र अभियानसम्बन्धी सचेतनामूलक सन्देशहरू प्रवाह गर्न सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने, पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामूलक दृश्य श्रव्य सामग्रीहरू तयार पारी प्रसारण गर्ने, एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले 'वाकाथन' को आयोजना गर्ने, अभियानका सन्देशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षित वर्गसम्म पुर्‍याउने आदि जस्ता कार्यक्रमहरू गरिने जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप