सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

संसदमा लिङ्देनले भने– यो गठबन्धनलाई हामीले नोटिसमा राखेका छौँ

बिहीबार, २४ फागुन २०८०, १५ : २४
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सत्ता गठबन्धनले भनेको कुरालाई आफ्नो दलले नोटिसमा लिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले गठबन्धन दलले राप्रपाको दुष्प्रचार गरेकोले भोलि राप्रपाको सहयोग खोज्ने दिन नआओस् भन्दै चेतावनी दिएका हुन । 

राप्रपाले सरकारमा नजाने भनिसकेको अवस्थामा गठबन्धन दलले राप्रपालाई सरकारमा सहभागी नगराउने भनेर प्रचार गरेकोको कुरालाई नोटिसमा राखेको बताए । 

उनले भने,‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो कुरालाई नोटिसमा राखेको छ, हाम्रो पार्टी यो सत्ता केन्द्रित चलखेलमा संलग्न छैन र हुँदैन भनेर हामीले स्पष्टसँग भनिसकेपछि पनि जुन विषय आयो कि राप्रपाले सहभागी हुन खोजेरपनि नपाएको भन्ने कुरा । यो कुरामा भ्रम नरहोस्, यो कुरालाई नोटिसमा राखेका छौँ । तपाईँको यो गठबन्धनले पर्सी नै राप्रपालाई खोज्ने दिन नआओस् ।’ 

अध्यक्ष लिङ्देनले संसदमा बोल्ने सबै दलका नेताहरुले देशको अहिलेको अवस्था ठिक छैन भनेर बोलेको बताउँदै त्यसको कारक अन्य दलहरुले भन्ने गरेको राजसंस्था हो कि विदेशी शक्ति हो भन्दै प्रश्न गरे । 

उनले अहिले देशको यो अवस्था हुनुमा अन्य दलहरुले ल्याएको व्यवस्था कारक रहेको बताए । हिजो सुविचारका साथ यो व्यवस्था ल्याइएको हो भने यसमा कैयौँ त्रुटि नै त्रुटि रहेको उल्लेख गरेर त्रुटिहरुको डङगुरमा बसेर देश र जनताको अवस्थामा परिवर्तन गर्न नसकिने उनले बताए । 

अध्यक्ष लिङ्देनले सबै पक्ष बसेर यो व्यवस्थालाई परिवर्तन गरेर जानुको विकल्प नभएको बताउँदै यो व्यवस्था संसारको सुन्दर व्यवस्था भनेर ढिपी गरिराख्ने र टिकाइराख्ने हो भने देश र जनतामाथि धोका र बेइमानी हुने टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप