मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला दिवस

जोखिम मोलेर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दो

शुक्रबार, २५ फागुन २०८०, १३ : ५८
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । नेपालबाट श्रम स्वीकृति लिएर विभिन्न देशमा जाने महिलाहरूको सङ्ख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको हो । 

महिलाहरू घरको काममा मात्रै सीमित हुनुपर्छ, घर परिवारलाई हेर्नुपर्छ र पुरुषले कमाएर ल्याउनुपर्छ भन्ने नेपाली समाजको मान्यता तोड्दै वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा ७२ हजार १३४ जना अर्थात् ९.३५ प्रतिशत महिला थिए ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चार लाख ५ हजार ५५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएकोमा ४५ हजार ७४६ अर्थात् ११.२७ प्रतिशत महिला छन् ।

विशेष गरी खाडी मुलुकसँगै जोर्डन, ओमान, बहराइन, कुवेत, रोमानियालगायतका देशमा रोजगारीका लागि महिलाहरू जाने गरेका छन् । उनीहरूलाई विशेष गरी घरेलु कामका साथै हाउस किपिङ, गार्मेन्टलगायतका क्षेत्रमा लगाउने गरेको पाइएको विभागले जनाएको छ । 

यस्तो छ विगत १० वर्षको वैदेशिक रोजगारको तथ्याङ्क 

Capture

पछिल्ला ३ वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेको देखाउँछ । कोरोना महामारीपछि यसरी सङ्ख्या बढेको हो ।

दक्ष महिलाहरू पनि वैदेशिक रोजगारीमा जाने गरेका छन् । विभागको पछिल्लो ५ वर्षको तथ्याङ्कले दक्ष भएर वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या बढिरहेको देखाएको छ । 

 

Capture

 

पछिल्लो ४ वर्षको तथ्याङ्क हेर्ने हो भने ७० जना उच्च दक्ष महिला मात्रै वैदेशिक रोजगारीमा गएको देखिन्छ । त्यस्तै २३३ जना महिला व्यावसायिक रूपमा काम गर्न वैदेशिक रोजगारीमा गएका छन् । 

गत आर्थिक वर्षमा साईप्रसमा पुरुषको तुलनामा महिला बढी गएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा ४ हजार ३४६ महिला रोजगारीका लागि साईप्रस गएका थिए भने ९७१ जना पुरुष गएका थिए । 

त्यस्तै इजरायलमा समेत पुरुषको तुलनामा महिला बढी गएका छन् । जी–टु–जी प्रक्रियामार्फत लानु अघि नै इजरायले महिला कामदार बढी माग गरेको थियो । 

त्यस्तै जोर्डनमा पुरुषको तुलनामा महिला बढी गएका छन् । कुवेतमा समेत उल्लेख्य सङ्ख्यामा महिलाहरू कामको सिलसिलामा गएका छन् । ओमान, साईबेरीमा समेत धेरै महिलाहरू गएका देखिन्छन् । 

Capture

वैदेशिक रोजगारीमा जाने महिला र पुरुषको तथ्याङ्क प्रतिशतमा 

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्नुको कारण  

श्रम तथा आप्रवासन विज्ञ डा. मिना पौडेलले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्नुको पछाडि थुप्रै कारण रहेको बताइन् । पहिलो त मुलुकभित्र रोजगारीको सम्भावना नभएपछि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेको हो । 

‘मुलुकभित्र आन्तरिक रोजगारीको सम्भावना नदेखिएपछि वा मुलुकमा रोजगारीको अवसर नपाएपछि बाहिर जाने बढ्ने हुन्,’ उनले भनिन्, ‘अर्को भनेको राजनीतिक किचलोले त्यो सम्भावना अनिश्चिततातिर धकेलिरहेको छ ।’

कोरोनापछि नेपालको श्रम गन्तव्य मुलुकहरूको बजार चलायमान हुन थालेकाले पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढिरहेको उनको बुझाइ छ । 

‘कोरोनाका २ वर्ष त्यति चलायमान थिएनन् । कोही टाट पल्टिएका थिए । कोहीले श्रमिक कटौती गरेका थिए । उनीहरूलाई आर्थिक सङ्कट थियो,’ डा. पौडेलले भनिन्, ‘गत वर्षदेखि बिस्तारै अर्थतन्त्रमा सुधार हुँदै गएको छ । त्यसले गर्दा सम्भावना उता बढ्दै छन् । यता सम्भावना घट्दैछन भनेपछि स्वाभाविक रूपमा जानेहरूको सङ्ख्या बढ्ने नै भयो ।’ 

महिलालाई घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जान सरकारले रोक लगाएको छ । र पनि अवैध बाटो प्रयोग गरेर जोखिमबिच महिलाहरू जाने गरेको पौडेलको भनाई छ ।

‘चोर बाटोको प्रयोग गरेर जाने महिलाहरू अलिकति कम पढेलेखेका छन् । श्रम स्वीकृति नै लिएर जाने धेरै महिलाहरू कक्षा १२ पास गरेका छन्’ उनले भनिन् ।

शिक्षा आर्जनपछि श्रम बजारमा ठाउँ नपाएकाले समाजको बन्धनहरू तोडेर महिलाहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् । 

‘बाध्यात्मक स्थितिमा जाँदा पनि समाजका हिजोका साँघुरा दृष्टिकोण पनि जबरजस्ती तोडिराछन् । समाजले जे सुकै भनोस् भनेर जाने अवस्था छ’ उनले भनिन । 

प्रविधिले पनि वैदेशिक रोजगारीमा जान महिलालाई प्रोत्साहित गरिरहेको छ । ‘जानलाई प्रोत्साहित गर्ने तत्त्वहरू धेरै भए, सकारात्मक पनि नकारात्मक पनि । यहाँ रोकेर रोजगारीको अवसर दिने तत्त्व नभएपछि जसरी पनि जाने भन्ने भयो’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप