शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

शुक्रबार, २५ फागुन २०८०, १७ : ५२
शुक्रबार, २५ फागुन २०८०

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । केन्द्रमा समीकरण फेरबदल भएर कांग्रेस सरकारबाट बाहिरिइसक्दा पनि मधेश प्रदेश सरकारबाट बाहिरिने छनक नदेखाएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुख्यमन्त्री यादवले केन्द्रीय समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।  जनता समाजवादी पार्टीका प्रवक्ता एवम् प्रदेश सांसद मनिष सुमनले नयाँ समीकरणमा आवद्ध दलहरूसँग भएको सहमति बमोजिम मधेश प्रदेश सरकार पुनर्गठन गर्न लागिएको जानकारी दिए ।  

उनले प्रदेश सरकार १÷२ दिनमा पुनर्गठन गर्न लागिएको जानकारी दिए । प्रवक्ता सुमनले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘अहिले केन्द्रसँगै मधेश प्रदेशको राजनीतिक समीकरण पनि परिवर्तन भएको छ, त्यसकारण त्यही बमोजिम अब नयाँ मन्त्रीमण्डल विस्तार गर्ने सत्तारुढ दलहरूबिच सहमति भएको छ । सोही बमोजिम प्रदेश सरकारले २ दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेको छ ।’ 

‘अब हुने मन्त्रिपरिषद् पुनर्गठनसँगै कांग्रेस बाहिरिन्छ, उसको ठाउँमा एमाले प्रवेश गर्छ,’उनले भने । उनका अनुसार मुख्यमन्त्रीले १÷२ दिनमै प्रदेश सरकारलाई पुनर्गठनको पत्र लेख्ने तयारी गरिरहेका छन् ।

मुख्यमन्त्री यादवको  नेतृत्वमै मन्त्रीमण्डल पुनर्गठन हुने प्रवक्ता सुमनले बताए ।  नयाँ मन्त्रीमण्डलमा एमालेसहित जसपा, माओवादी र नेकपा एस समेटिने उनले बताए । मुख्यमन्त्री सरोज यादवले भने चाँडै सरकार पुनर्गठन गर्ने संकेत दिए । 

उनले भने, ‘आज काठमाडौँमा छु, साँझसम्म जनकपुर पुग्छु । त्यसपछि भोलि नै केही नतिजा आउने प्रक्रिया चाल्छु ।’ 

नयाँ समीकरण अनुसार मधेश प्रदेश सरकारलाई एमालेका २३, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ जना प्रदेश सांसदहरूको समर्थन रहनेछ । सरकार निर्माण गर्न ५४ जना सांसदको समर्थन चाहिन्छ ।  

मधेश प्रदेशमा सभामुखसहित १०७ जना सांसद छन् । प्रदेश सदनमा कांग्रेसका २२, जनमतका १३, लोसपाको ८, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीको एक/एक प्रदेश सांसद छन् भने एक स्वतन्त्र सांसद छन् । 

केन्द्रमा नयाँ समीकरण बनेसँगै मन्त्रीमण्डल विस्तारसमेत भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप