शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री

शनिबार, २६ फागुन २०८०, १३ : १३
शनिबार, २६ फागुन २०८०

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य गरिने बताइन् ।
दाताले रगत निःशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिँदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग गरिने मन्त्री शर्माले बताइन् । सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उनले हाम्रो देश विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोका रुपमा जोडेर लैजानुपर्ने बताइन् ।

रेडक्रस, ब्लड डोनर्स एसोसिएसनजस्ता सामाजिक संस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले त्यसलाई देशकै अभियानका रुपमा निरन्तर सञ्चालन गर्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप