शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित : कमल थापा

शनिबार, २६ फागुन २०८०, १३ : २८
शनिबार, २६ फागुन २०८०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन सत्ता लोलुप व्यवस्था प्रमाणित भएको बताएका छन् । शनिवार पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । 

अध्यक्ष थापाले १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए । ‘के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो ?’ भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे । 

नेताहरूको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले सधैँका लागि देश छाडेर जाने लहर बढेकोप्रति राज्य उदासीन भएको समेत आरोप लगाए । राप्रपा नेपालले सङ्गठन निर्माण र आन्दोलनलाई सँगै लैजानुपर्ने आवश्यकता रहेको भन्दै थापाले अहिलेको सङ्घीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्ने समेत बताए ।

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न विचार मिल्नेहरूबिच तत्काल मोर्चा बनाउनुपर्नेमा समेत जोड दिए । एक्लै एक्लै हिँड्ने कोसिस गरे समयले कसैलाई माफ नदिने भन्दै थापाले देश र जनताको बृहत्तर हितका लागि फराकिलो सोच र दूरदर्शिता आवश्यक रहेको समेत बताए । बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरू, उपाध्यक्ष तथा महामन्त्रीहरूले भावी कार्यक्रम र कार्य प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप