शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ : कांग्रेस नेता प्रधान

शनिबार, २६ फागुन २०८०, १६ : ४१
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्रको रूपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले प्रचण्डलाई अस्थिर नेता मात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए । उनले प्रचण्डले अब सबैलाई सधैँ मूर्ख बनाउन नसक्ने दाबी गरे । 

साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरूलाई पटक पटक धोका दिनुभएको छ, पहिले सुरुमा उहाँले गिरिजाबाबुलाई झुक्याउनुभयो, राष्ट्रपतिको निर्वाचनमा रामराजाप्रसाद सिंहलाई उठाउनुभयो । उहाँले गिरिजाबाबुलाई राष्ट्रपति बनाउँछु भन्नुभएको थियो, तर उहाँ त्यो सहमतिबाट ब्याक हुनुभयो । अनि अर्कै उम्मेदवार उठाउनुभयो । हाम्रो गिरिजाबाबुले पनि रामवरणलाई उठाएर जिताएर ल्याउनुभयो । हामीसँग सरकारमा भएकै बेलामा प्रचण्डले २०७४ मा एकाएक वाम गठबन्धन बनाएर हामीलाई झुक्याउनुभयो । फेरि २०७७ मा नेकपामा विवाद हुँदा पछि छोडेर हामीसँग जोडिन आउनुभयो । ०७९ को निर्वाचनमा हामीसँग गठबन्धन गर्नुभयो, अनि निर्वाचनपछि फेरि बालकोट भागेर जानुभयो, त्यताबाट पनि भागेर फेरि हामीसँग आउनुभयो । अब कतिपटक झुक्याउने ?’

उनले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो सभापति शेरबहादुर देउवा महामूर्ख नरहेको भन्दै अब झुक्याउने खेला बन्द गरिदिने चेतावनी दिए । उनले भने,‘अब कतिपटक झुक्याउने ? केपी ओली महामूर्ख छन् र ? शेरबहादुर देउवा महामूर्ख छन् र ? त्यसकारण उहाँको बारम्बार झुक्याउने प्रवृत्तिले सबैभन्दा बढी घाटा, बेइमान र गद्दार र धोकेबाज भनेर चिनिएको कोही छ भने प्रचण्ड नै हो । हाम्रो समाजमा एउटा लोग्ने मान्छे तीन वटा विवाह गर्ने चलन थियो, पछि बहुविवाह आयो । प्रचण्ड त कस्तो बन्नुभयो भने एउटै व्यक्तिको दुई वटा श्रीमान् । पहिलो श्रीमान् केपी शर्मा ओली र दोस्रो श्रीमान् हाम्रो शेरबहादुर देउवाजी बन्नुभयो । अहिले उहाँको निर्णय अप्राकृतिक र असान्दर्भिक हो । अनैतिक किसिमको रह्यो । यसले प्रचण्डको इमेज खराब भयो । यसबारेमा माओवादीका साथीहरू पनि खुसी छैनन् ।’

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन सक्नेमा पनि नेता प्रधानले आशङ्का व्यक्त गरे । उनले भने–‘मलाई के लाग्छ भने प्रधानमन्त्रीले जुन विश्वासको मत लिने कुरा छ । एमाले पनि मुख्य मन्त्रालय नलिईकन सरकारमा गएको छ, सरकारको फोर पिलर भनेर हामीले जुन रक्षा, गृह र अर्थ र परराष्ट्र मन्त्रालय भन्छौँ । एमालेले रक्षाबाहेक पाएको छैन । सायद विश्वासको मत लिने बेलामा केपी ओलीले आफ्नो डिमान्ड राख्छन् ।’

नेता प्रधानले पटक पटक अब प्रधानमन्त्री बन्ने पालो माधव नेपालको भएको सुनाए । ‘अहिले प्राकृतिक रूपमा सरकारको नेतृत्वको पालो माधव नेपालको हो । आखिर हाम्रो यसअघिको गठबन्धनमा ९ महिनापछि माधव नेपाल नै प्रधानमन्त्री बन्ने पालो थियो, तर उहाँलाई हटाउनको लागि नै प्रचण्डले यो स्टेप चालेको हो ।’–प्रधानको भनाई छ । 

यद्यपि उनले अहिले माधव नेपालको दलपनि सरकारमा गएको उल्लेख गर्दै यसरी सरकारमा गएका दलहरूको अहिले इमेज घटेको दाबी गरे । उनले भने,‘जुन–जुन दल माओवादीको सरकारमा सम्मिलित छन्, ती दलको इमेज घटेको छ । रास्वपाको एउटा इमेज थियो, त्यो इमेजमा दाग लगाउने काम रविले गरेको हो । आम जनता र मिडियाले देखेको र लेखेको कुरा अनि कान्तिपुरले छताछुल्ल पारेर लेखेको रवि लामिछानेलाई नै गृहमन्त्री बनाएपछि जनताले सुशासनको अनुभूति गर्ने कुरा भनेर अब पत्याउँछन् त ? वर्षमान पुनको कुरा पनि किन नहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप