शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्री नभएर वाइन थुप्रिन थालेपछि अस्ट्रेलियामा अङ्गुरका दसौँ लाख झाङ उखेलिए

आइतबार, २७ फागुन २०८०, ११ : ४३
आइतबार, २७ फागुन २०८०

सिड्नी । अस्ट्रेलियाभरमा अङ्गुरका दसौँ लाख झाङ नष्ट गरिएको छ । वाइनको अत्यधिक उत्पादनका कारण मूल्य घट्दै गएको अनि अङ्गुर किसान एवम् वाइन निर्माताहरूको जीविका नै संकटमा पर्ने स्थिति देखिएपछि अरू करोडौँ झाङ पनि उखेलेर फ्याकिँदैछ । विश्वभर वाइनको खपत घटेपछि अस्ट्रेलियाका वाइन निर्माताहरू मारमा परेका छन् ।

२०२३ को मध्यतिरै अस्ट्रेलियामा २ अर्ब लिटरभन्दा बढी वाइन उब्रिएको थियो । यति वाइन उत्पादन गर्न करिब २ वर्ष लाग्छ । अस्ट्रेलिया विश्वको पाँचौँ ठुलो वाइन उत्पादक हो । हालैका वर्षसम्म वाइन बेच्न यो चिनियाँ बजारप्रति निर्भर रहँदै आएको थियो । तर विश्व बजारमा वाइनको माग घटेपछि यति बेला अङ्गुर किसानहरू घाटामा छन् ।

वाइनमा पनि रेड वाइन सबैभन्दा मारमा परेको छ । सन् २०२० मा प्रति टन ६५९ अस्ट्रेलियन डलर रहेको रेड वाइनको भाउ घटेर अहिले औसत ३०४ अष्ट्रेलियन डलरमा आएको छ । यो भनेको एक दशकयताकै न्यून हो । यो वर्ष पनि वाइनको भाउ न्यून नै रहने सरकारको प्रक्षेपण छ । बजारमा सन्तुलन ल्याउन र मूल्यलाई टेवा दिन ग्रिफिथलगायत केही स्थानका एक चौथाइ अङ्गुरका झाङ उखेलेर फ्याँक्नु पर्ने बताइएको छ ।

 यसो गर्दा १२ हजार हेक्टरमा फैलिएको २ करोड भन्दा धेरै अङ्गुरका झाङ उखेलेर फ्याँकिनेछ । यो भनेको अस्ट्रेलियाको कूल अङ्गुर खेतीको झन्डै ८ प्रतिशत हो । अन्य क्षेत्रका अङ्गुर किसान र वाइन निर्माताहरूले पनि धमाधम अङ्गुरका झाङ फाँडिरहेका छन् । अस्ट्रेलियाका आधा अङ्गुरका झाङ उखेलेर फ्याके पनि अत्यधिक आपूर्तिको समस्या समाधान नहुने पश्चिम अस्ट्रेलियाका एक वाइन निर्माताले बताउँछन् ।

स्वास्थ्य प्रति सचेतना बढ्दै गर्दा विश्वभर रक्सीजन्य पदार्थको सेवन गर्ने क्रम घट्दो छ । यति बेला चिली, फ्रान्स र अमेरिका जस्ता अन्य ठुला वाइन उत्पादकहरूले पनि ओभर सप्लाइको समस्या भोगिरहेका छन् । चीनले राजनीतिक बहसका कारण सन् २०२० मा अस्ट्रेलियाबाट वाइन आयातमा रोक लगाएको थियो । यो महिनादेखि चीनले आयातलाई अनुमति दिने अपेक्षा गरिएको भए पनि यसले अहिले बजारमा विक्री नभएर बाँकी रहेका वाइनको बाढी खासै कम गर्नेछैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप