सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

मुद्दाको सङ्ख्या बढे पनि न्यायाधीशको सङ्ख्या नबढ्दा फर्स्यौटमा समस्या

यो चिन्ताजनक विषय हो : मुख्य न्यायाधीश निरौला
आइतबार, २७ फागुन २०८०, १९ : ५२
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले मुद्दाको सङ्ख्या बढे पनि न्यायाधीशको सङ्ख्या बढ्न नसक्दा मुद्दा फर्स्यौटमा समस्या भएको बताएका छन् । आइतबार काठमाडौँ जिल्ला अदालतको निरीक्षणमा आएका मुख्य न्यायाधीश निरौलाले आवश्यक मात्रामा न्यायाधीशको पदस्थापन हुन नसक्दा मुद्दाको लगत नघटेको बताएका हुन् । 

उच्च अदालत पाटन मातहतका अदालतहरूको निरीक्षणका क्रममा आइतबार मुख्य न्यायाधीश निरौलासहितका ४ न्यायाधीश काठमाडौँ जिल्ला अदालत पुगेका थिए । निरीक्षणका क्रममा जिल्लामा ४० हजारभन्दा बढी मुद्दा लगतमा चढेको पाइएपछि मुख्य न्यायाधीश निरौलाले मुद्दाको सङ्ख्या बढे पनि लगत घट्न नसक्नु चिन्ताजनक भन्दै न्यायाधीश अभावका कारण मुद्दाको सङ्ख्या नघटेको बताए । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्य न्यायाधीश निरौलाले सबैभन्दा बढी मुद्दाको चाप काठमाडौँ जिल्ला अदालतमा हुने भएकाले कम्तीमा पनि स्वीकृत दरबन्दी अनुसार न्यायाधीशको पदस्थापन हुनुपर्ने बताए । उनले भने, ‘काठमाडौँ जिल्ला अदालतमा ४३ जना न्यायाधीशको दरबन्दी छ । तर ३० जना मात्रै न्यायाधीश उपलब्ध हुँदा मुद्दाको लगत घट्न नसकी झन्झन् बढ्दै गएको छ, यो चिन्ताजनक विषय हो । ’

काठमाडौँ जिल्ला अदालतमा हाल ३० न्यायाधीश उपलब्ध छन् । ४३ जनाको दरबन्दी भए पनि अधिकतम ३५ वटा मात्रै इजलास सञ्चालन हुन सक्छ भने पूर्ण क्षमतामा न्यायाधीशसमेत उपलब्ध छैनन् । भवन अभावका कारण दरबन्दी अनुसार न्यायाधीशको काज वा सरुवा समेत हुन सकेको छैन । 

काठमाडौँ जिल्ला अदालतमा गत फागुन २४ गतेसम्मको तथ्याङ्क हेर्दा कुल ४० हजार ७५० थान मुद्दा लगतमा चढेको देखिन्छ । गत वर्षको जिम्मेवारीबाट सरी आएको २१ हजार २७२ थान र यस वर्षको फागुन २४ गतेसम्म दर्ता भएको नयाँ मुद्दा १९ हजार ४७८ गरी कुल ४० हजार ७५० थान मुद्दा लगतमा चढ्दा यस वर्षको फागुन २४ गतेसम्म जम्मा १२ हजार ५८२ थान मुद्दा मात्रै फर्स्यौट भएको छ । 

यस आर्थिक वर्षमा पुरानो र नयाँ दर्ता भएको गरी कुल ४९ हजार ११५ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएकामा हालसम्मको अवस्थामा जम्मा १२ हजार ५८२ थान मुद्दा फर्स्यौट हुँदा लक्ष्यको ३४ दशमलव ७६ प्रतिशत मुद्दा मात्रै फर्स्यौट हुन सकेको छ ।

मुख्य न्यायाधीश निरौलाले काठमाडौँ जिल्ला अदालत देशैभरका सेवाग्राहीको केन्द्र रहेको भन्दै अन्य जिल्लाको तुलामा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ताको सङ्ख्या पनि वार्षिकरुपमा बढिरहेको बताए । उनले भने, ‘हामीले गर्ने अनुमान भनेको गत वर्षको तुलनामा करिब १०¬–१२ प्रतिशतले मुद्दा बढ्ला हुन्ने हुन्छ, तर काठमाडौँ जिल्ला अदालतमा झन्डै २० प्रतिशतले मुद्दा बढिरहेको छ । यसले गर्दा लक्ष्य र प्रगतिमा पनि फरक पर्ने नै भयो ।’

मुख्य न्यायाधीश निरौलाका अनुसार काठमाडौँ जिल्ला अदालतलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए मुद्दाको लगत घटाउन सकिने पनि बताए । कम्तीमा दरबन्दी अनुसारको न्यायाधीशको उपलब्धता र इजलास बस्न मिल्ने भवन भए मुद्दा फर्स्यौटमा तीव्रता दिन सकिने उनले बताए । काठमाडौँ जिल्ला अदालतमा भवन अभावका कारण दरबन्दी अनुसार न्यायाधीशको उपलब्धता नभएको हो । 

२ वर्ष नाघेका मुद्दामा सफलता 

समग्र मुद्दा फर्स्यौटमा सुस्तता भए पनि २ वर्ष नाघेका मुद्दामा भने आशातीत सफलता मिलेको अदालतका सूचना अधिकारी चन्द्र प्रसाद पन्थीले बताए । फागुन २४ गतेसम्म २ वर्ष नाघेका ३ हजार ४७० थान मुद्दा फर्स्यौट भइसकेको छ भने आगामी असार मसान्तसम्म यो सङ्ख्या ६ हजार ४ सयको हाराहारीमा पुग्ने बताए । उनले भने, ‘फागुन २४ गतेसम्म २ वर्ष कटेका मुद्दाको सङ्ख्या २ हजार ४४० थान छन् र आगामी असार मसान्तसम्म त्यो सङ्ख्या ३ हजार ९१२ थान पुग्छ । तर असार मसान्तसम्म हामी २ वर्ष कटेका मुद्दा करिब १ हजारमा झार्ने तयारीमा छौँ । त्यसो गर्दा आगामी असार मसान्तसम्म २ वर्ष कटेका मुद्दाको फर्स्यौट करिब ६ हजार ४ सय पुर्‍याउने लक्ष्य छ ।’

मुख्य न्यायाधीश निरौलाले चेक बाउन्सका मुद्दा पनि जिल्ला अदालतमा सरी आउँदा काठमाडौँमा करिब ५ हजार थान मुद्दा थपिएको र सम्बन्धविच्छेद लगायतका अन्य मुद्दा पनि दिनहुँ बढिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप