मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुसी सेनामा कार्यरत नेपालीले उद्धारका लागि मागे भारतसँग सहयोग

सोमबार, २८ फागुन २०८०, १७ : ०७
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । रुसी सेनामा कार्यरत तीन जना नेपालीले उद्धारका लागि भारत सरकारसँग सहयोग माग गरेका छन् । रुसस्थित नेपाली दूतावासले सहयोग नगरेको भन्दै उनीहरूले हिन्दीमा सम्बोधन गर्दै भारत सरकारसँग उद्धारका लागि अपिल गरेका हुन् ।

सन्तोषकुमार श्रेष्ठ लगायतले हिन्दीमा भिडियो सन्देश दिँदै आफूहरू रुसको आर्मीमा रहेको बताएका छन् । ‘हामी नेपालबाट आएका थियौँ । हामीमाथि धेरै समस्या भइरहेको छ । एजेन्टले झुटा बोलेर यता पठाएको थियो । हामीलाई रसियन आर्मीको हेल्परको रूपमा काम गर्नुपर्छ भनेर हामीलाई पठाएको थियो,’ भिडियोमा भनेका छन्, ‘यता आएर हामीलाई लडाइँमा पठाइरहेको छ । त्यही भएर हामीहरू यताबाट निस्किन चाहन्छौँ । हाम्रो साथमा ३ भारतीय थिए । उनीहरूलाई भारतले फिर्ता लग्यो । तर, हामीलाई हाम्रो दूतावासले कुनै पनि सहयोग गरेको छैन ।’

नेपाल सरकारले आफूहरूको उद्धार गर्न नसकेको भन्दै छिमेकी देश भारतसँग उद्धारको लागि अपिल गरेका हुन् । भारत र नेपालबिच निकै राम्रो सम्बन्ध रहेकाले भारतले आफूहरूको उद्धार गरेर निराश नगर्नेमा आशावादी रहेको उनीको भिडियो सन्देशमा उल्लेख छ ।

‘भारत शक्तिशाली छ । भारतीय दूतावास पनि शक्तिशाली नै छ । हाम्रो देशबाट केही पनि भइरहेको छैन । यहाँका सबै नेपाली नेपाल फर्किन चाहिरहेका छन् । हामी ३० जना थियौँ । तीमध्ये हामी ५ जना मात्रै बाँकी छौ’ उनीहरूले भनेका छन् ।

रुसी सेनामा कार्यरत २४५ जना नेपालीहरूको उद्धारको लागि निवेदन दिएका छन् । तर, उनीहरूको उद्धार हुन सकेको छैन । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले २४ फागुनमा रुसी विदेश मन्त्रीसँग टेलिफोन संवाद गरेका थिए । विदेशमन्त्री सर्गेई लावरोभसँग टेलिफोन वार्तामा परराष्ट्र मन्त्री श्रेष्ठले रुसी सेनामा रहेका आफ्ना नागरिकका विषयमा चासो राखेका थिए ।

उनले रुसको युद्धमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काएर सहजीकरण गर्न विदेश मन्त्रीसँग आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप