शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कान्तिपुर सहकारी ठगी प्रकरण

एकै व्यक्तिको २ करोड ४० लाखसम्मको निक्षेप जोखिममा

२० जनाको प्रतिव्यक्ति १ करोडभन्दा बढीको निक्षेप जोखिममा
मङ्गलबार, २९ फागुन २०८०, १२ : ५५
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । चक्रलाल श्रेष्ठसमेत ८५२ जना जाहेरवालाको उजुरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगीको मुद्दा दायर ग¥यो । प्रहरी वृत्त बानेश्वरको प्रहरी प्रतिवेदनका आधारमा सरकारले कान्तिपुर सहकारीविरुद्ध १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी भएको भन्दै अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी र पूर्व अध्यक्ष सिबी लामा भन्ने चन्द्रबहादुर तामाङसमेत ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीबाहेकका सञ्चालकहरू पक्राउ परेका छैनन् । उनीहरूलाई फरारकै सूचीमा राखेर मुद्दा चलाइएको छ । 

‘आकर्षक ब्याज दिन्छु’ भन्दै हजारौँ निक्षेपकर्ताबाट ६ अर्ब रुपैयाँभन्दा बढी रकम निक्षेप राख्न लगाई उक्त रकम फिर्ता नगरी कान्तिपुर सहकारीका सञ्चालकहरूले रकम अपचलन गरेका थिए । जनताको निक्षेप लिएर सञ्चालकहरूले कान्तिपुर अस्पताल, कान्तिपुर एकेडेमी अफ हेल्थ कलेज, पेण्टागन कलेज, जाम्बला रिसोर्ट आदि सञ्चालन गरेका थिए । त्यसबाहेक सहकारीमा आएको निक्षेप रकम विभिन्न स्थानका प्लटिङ लगायतका जग्गामा लगानी गरिएको थियो । 

फिक्स्ड डिपोजिटमा राखिएको उक्त रकम फिर्ता गर्न नसकेको र घर जग्गा पनि विक्री नभएको तथा कान्तिपुर अस्पताल घाटामा गएको लगायतका कारणबाट कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले निक्षेपकर्ताको रकम फिर्ता गर्न सकिरहेको थिएन । लामो समय अध्यक्ष रहेका पूर्व अध्यक्ष सिबी लामा एक्लैले सहकारीको १ अर्बभन्दा बढी रकम अपचलन गरेको लगायतको कारणबाट समस्यामा परेको कान्तिपुर सहकारीमा उजुरी दिनेमध्ये २० जनाको निक्षेप प्रतिव्यक्ति १ करोड रुपैयाँभन्दा बढी छ । 

कान्तिपुर सहकारीविरुद्ध जाहेरी दिएका ८५२ जना जाहेरीकर्ता तथा उनीहरूको आफन्त गरी कुल १ हजार १७४ जना पीडितको मात्रै १ अर्ब ६१ करोड ३४ लाख ३४ हजार ८६९ रुपैयाँ कान्तिपुर सहकारीमा फसेको छ ।

  • एकै व्यक्तिको निक्षेप २ करोड ४० लाखसम्म

रातोपाटीलाई प्राप्त १ हजार १७४ जना पीडितको नाम तथा उनीहरूको डुबेको निक्षेपमा एकै व्यक्तिको २ करोड ३९ लाख ८५ हजार रुपैयाँसम्मको हिसाब देखिन्छ । त्यस्तै जाहेरवालाको परिवारका सबै सदस्यको हिसाब गर्दा एकै परिवारको २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम कान्तिपुर सहकारीमा फसेको देखिन्छ । 

Highest-Top-20

रातोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार ८५२ जना जाहेरवालाले रकम फिर्ता नपाएको दाबी गरिएको छ । त्यस्तै अन्य बचतकर्ताहरूको रकम समेत गरी करिब ६ अर्ब रुपैयाँ कान्तिपुर सहकारीले तिर्न बाँकी रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप