आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी फुटाउन र प्रचण्डलाई विश्वासको मत दिन लागेको भन्दै जनमतद्वारा सांसदलाई कारबाही

बुधबार, ३० फागुन २०८०, १४ : ५०
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने गतिविधिमा लागेको भन्दै जनमत पार्टीले पार्टीकी सांसद गोमालाभ सापकोटालाई सांसद पदबाट हटाउन संसद् सचिवलायलाई पत्र पठाएको छ । जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता डा. सीके राउतले समानुपातिक सांसद सापकोटालाई हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएका हुन् ।

जनमत पार्टीका एक जना पदाधिकारीका अनुसार सांसद सापकोटा सुरुदेखि नै पार्टीको हितविपरीत गतिविधिमा लागेकी थिइन् । पछिल्लो समय पार्टीको नीति विपरीत उनी प्रधानमन्त्री प्रचण्डको पक्षमा माहौल बनाउने गतिविधिमा लागेको पाएपछि पार्टीले उनलाई हटाउने निर्णय गरेको ती पदाधिकारीको भनाई छ ।

सापकोटा समानुपातिक सांसद भएको केही दिनमै पार्टी विभाजनका लागि पनि लागेको उनको भनाई छ । जनमतका केही असन्तुष्ट सांसदहरू पार्टी विभाजनको गतिविधिमा लागेका थिए, त्यसमध्ये सापकोटा पनि एक थिइन् । तर उनीहरूले पार्टी विभाजन भने गर्न सकेनन् । पार्टी अध्यक्ष राउतले सो गतिविधिमा लागेका सांसदहरूलाई त्यति नै बेला सचेत पनि गराएका थिए ।

तर सापकोटाले पार्टीका अध्यक्ष राउतको निर्देशनसमेत उल्लङ्घन गरेको ती पदाधिकारीको आरोप छ । पार्टीबाट सांसद वा अरू कुनै पदमा गएका व्यक्तिले आफ्नो पारिवरका सदस्यलाई स्वकीय सचिवमा राख्ने कुरा थिएन । तर उनले आफ्नै परिवारका सदस्यलाई स्वकीय सचिवमा राखेकी थिइन् ।

पार्टीका अध्यक्ष राउतले पटक–पटक त्यसमा ध्यानाकर्षण गराए पनि सांसद सापकोटाले त्यसमा कुनै सुनुवाइ नगरेको पार्टीको भनाई रहेको छ । पार्टीको निर्देशनलाई बेवास्ता गरेको कारण सापकोटालाई हटाउन पत्राचार गरिएको जनमत पार्टीले जनाएको छ ।

यता पार्टीले पठाएको व्यक्तिलाई स्वकीय सचिवमा राख्न निर्देशन दिएको कुराबाहेक अन्य सबै आरोप झुटो रहेको सांसद सापकोटाले दाबी गरेकी छन् । बिचमा आफू अस्वस्थ भएको कारण त्यो प्रक्रियालाई अगाडि बढाउन नसकेको र अहिले आफूलाई कुनै कुरा सोध्दै नसोधी हटाइएको उनले गुनासो पोखिन् । 

 पार्टी विभाजन तथा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिलाउन आफूले कुनै पनि भूमिका नखेलेको बताउँदै उनले पार्टीले आफूमाथि गलत आरोप लगाएको बताइन् ।

‘पार्टी विभाजनको बारेमा ५–६ महिनाअघि पनि मसँग स्पष्टीकरण सोधिएको थियो । त्यति बेला मैले सबै कुरा स्पष्ट पारिसकेका थिएँ । तर अहिले आएर फेरि त्यही आरोप लगाएको छ, जुन झुटो हो,’ उनले भनिन्, ‘हटाउनका लागि कुनै बहाना नपाएपछि पार्टीका नेताले झुटको सहारा लिनुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप