आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पदपूर्ति प्रक्रिया

पर्यटन बोर्ड सदस्य नियुक्तिमा विषयगत र क्षेत्रगत सन्तुलन मिलाउन दबाब

शुक्रबार, ०२ चैत २०८०, १४ : ०३
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटीबी) को सञ्चालक समितिको रिक्त तीन सदस्य पदपूर्तिको प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । प्राप्त आवेदनका आधारमा बोर्ड सदस्य मनोनयन सिफारिस समितिले अन्तिम नामावली मन्त्रिपरिषद्‌मा पठाउने तयारी गरेको हो ।

नेपालको पहिलो ‘पब्लिक प्राइभेट पार्टनरसिप’ (पीपीपी) मोडलमा सञ्चालित पर्यटन बोर्डको रिक्त तीन सदस्य पदका लागि हालसम्म २० जनाको आवेदन परिसकेको छ । यसमा केही नाम थपिन सक्ने देखिएको छ । समितिले प्रारम्भिक छनोट गरी अन्तिममा ५ वटा नाम पठाउने तयारी गरिरहेको बताइन्छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुई जना प्रतिनिधि राखेर तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । तर, उक्त समिति खारेज गर्दै सरकारले निजी क्षेत्रकै सहभागितामा पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको संयोजकत्वमा पम्फा देवी पौडेल र अम्बिर बहादुर गुरुङलाई बोर्ड सदस्य सिफारिस समितिमा राखेको छ ।

समितिले आजभोलि नै अन्तिम ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी गरेको छ ।

को–को छन् प्रतिस्पर्धामा ?

प्राप्त सूचना अनुसार २० जना आवेदकमा रामप्रसाद सापकोटा (कमल) धादिङ, दावा लामा तामाङ (काभ्रेपलाञ्चोक), अविर कुमार मल्ल (रुकुम पश्चिम), तिलक लामा (काभ्रेपलाञ्चोक), नवराज पाण्डे (धादिङ), सरिता लामा (रामेछाप), मोहन लम्साल (तुलसीपुर दाङ), मिला दाहाल, नवराज दाहाल (काठमाडौँ), नरेन्द्र कुमार देव भट्ट (बैतडी), आङ जेवी लामा (काठमाडौँ) छन् ।

यसैगरी, जिम्बा जाङ्बु शेर्पा (सोलुखुम्बु), देवी कृष्ण रोकाया (रारा, मुगु), ऋषिराम भण्डारी (कास्की), अभिषेक विक्रम शाह (काठमाडौँ), ईश्वरी पौडेल (ताप्लेजुङ), सिर्जना राणा (काठमाडौँ), जित गुरुङ (पोखरा), देवराज जैशी (जाजरकोट), खुमबहादुर सुवेदी (धादिङ) पनि आवेदक हुन् । अन्तिम समय सम्ममा २–४ जना आवेदक थपिन सक्ने सिफारिस समितिले जनाएको छ ।

यी आवेदकमध्ये केही चर्चित अनुहार रहेको तिनले राजनीतिक भागबन्डाका आधारमा बोर्ड सदस्यको नियुक्ति लिन निकै दौडधुप गरिरहेको स्रोतले रातोपाटीलाई बतायो ।

खासगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी पार्टी र केही साना दलका प्रतिनिधिहरूले समेत बोर्ड सदस्यका लागि शक्ति केन्द्र रिझाउन पहल गरिरहेको स्रोतको दाबी छ ।

विषयगत र क्षेत्रगत प्रतिनिधित्व गराउन दबाब

२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएका छन् । सोही तीन पदका लागि हाल बोर्डमा नियुक्ति लिन व्यवसायीहरूको तीव्र दौडधुप चलिरहेको हो ।

पर्यटन व्यवसायी सम्वद्ध निकाय र सरोकारवालाहरू भने राजनीतिक प्रभावमा नभएर बोर्डलाई सही नेतृत्व दिने व्यक्तिलाई छनोट गर्नुपर्ने बताउँदै आएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण तराई भेगलाई समेत समेट्ने तथा सबैखाले पर्यटन व्यवसाय क्षेत्रको प्रतिनिधित्व हुनेगरी बोर्ड सदस्य छनोट गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

हाल एकै क्षेत्रको र समान व्यवसायको क्षेत्रबाटै बोर्डमा प्रतिनिधित्व बढी हुँदा सबै पर्यटन व्यवसायको क्षेत्रले समान अवसर नपाएको व्यवसायीहरूको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप