आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार साधन हो गन्तव्य होइन

सोमबार, ०५ चैत २०८०, १० : २३
सोमबार, ०५ चैत २०८०

सत्ता र हामीले यात्रामा चढ्ने गाडी दुवै साधन हुन्, गन्तव्य होइनन् । हामी कुनै यात्रा तय गर्दै छौँ भने हामीले चढ्ने गाडी गन्तव्य हो त ? होइन, गाडी त गन्तव्यसम्म पुर्‍याउने साधन मात्रै हो, जुन साधन चढेर हामी गन्तव्यसम्म पुग्नुपर्नेछ, त्यसैले पुग्नुपर्ने ठाउँ चाहिँ हाम्रो गन्तव्य हो । गाडी हाम्रो यात्राको साधन मात्रै हो । यसरी नै सरकार भनेको साधन मात्रै हो । त्यसैले साधनको प्राप्तिमै हामी धेरै उत्साहित र खुसी मनाउन हतार गर्नु हुँदैन । सत्ता र सरकार हामीले यात्राका लागि तय गरेको गाडीजस्तै हो, जसका माध्यमबाट हामी गन्तव्यमा पुग्नेछौँ ।

सत्तारूपी साधन प्रयोग गरेर पुग्नुपर्ने हाम्रो गन्तव्य त समृद्धि हो; सुशासन र सामाजिक न्याय हो; निःशुल्क स्वास्थ्य र शिक्षा हो; गाँस, बास र कपासजस्ता आधारभूत आवश्यताको सुनिश्चितता हो; शान्ति–सुरक्षा र कानुनी राज्य वा विधिको शासन हो; बेरोजगारीको अन्त्य हो । सत्ता वा सरकार भनेकै यही उद्देश्यको गन्तव्यमा पुग्ने एउटा साधन हो, यद्यपि वर्षौंदेखि सत्तालाई आफ्नो मुख्य गन्तव्य बनाएका पुराना दलका नेताले यस्तो भाष्य निर्माण गर्न सकेनन् । बहुदल आएदेखि नै संसद्मा पुगेका दलहरू केवल सत्ता र पदमै केन्द्रित देखिन्छन् । आफू कसरी सरकारमा जाने, त्यसका लागि सरकारमा भइरहेकालाई कसरी असफल बनाउने वा आफू कसरी सत्तामा टिकिरहने भन्नेमै दलहरूको ध्यान र कसरत देखिन्छ । 

गणतन्त्रपछि पनि कैयौँपटक सरकार परिवर्तन भए, नेतृत्व वा मन्त्री फेरिए तर जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेको जगजाहेरै छ । अनेक कुरा आफ्नो घोषणापत्रमा लेखेर संसद् हुँदै सरकारमा पुग्ने दलहरुले आफ्ना घोषणापत्र भुलेको र सत्ता खिचातानीमै अल्झिएको देखिएकै छ । एक्लै बहुमतसहित सरकार गठन गर्ने हैसियत कुनै दलले राखेको देखिएन । यसका लागि त जनताको मन जित्न सक्नुपर्छ । 

पुराना दलले जनअपेक्षा अनुरुप काम नगरेकाले जनताले पछिल्लो समय विकल्प खोजिरहेकै छन् । जनमत, नागरिक उन्मुत्ति, फलतः रास्वपाजस्ता पार्टीको उदय भएको देखिन्छ । यस्तै प्रतिगामी दलतिर पनि जनता बहकिएको देखिन्छ । 

पुराना दलप्रतिको चरम असन्तुष्टि र बढ्दो वितृष्णाका कारण नयाँ दल लोकप्रिय बनिरहँदा जनताले रास्वपासहितका नयाँ दलप्रति अझै धेरै अपेक्षा राखेका छन् । सबै पुराना दलको विकल्पका रूपमा हेरिएको रास्वपा पनि पटकपटक सरकारमा जाने र बाहिरिने प्रक्रियाले जनतामा फेरि आशंका फैलिएको छ, कतै नामका मात्रै नयाँ तर शैली र सोचाइ उही पुरानै त होइन भन्ने जनतामा परेको छ ।

जेहोस् नयाँ गठबन्धनसँगै कम्युनिस्टहरु एक ठाउँमा आएका छन् । जनताले विकल्पका रुपमा हेरेको दल रास्वपा पनि सरकारमा सहभागी भएको छ । अब देशका मन्त्री कस्तो हुनपर्छ भन्ने कुराको आभास जनतालाई गराउने सुनौलो अवसर आएको पक्कै छ । सबैले यही प्रमाणित गर्नुपर्नेछ कि सरकार साधन मात्रै रहेछ, गन्तव्य त समृद्व राष्ट्र हो । नयाँ गठबन्धनको सरकारले यस्तो प्रमाणित गर्ला वा पुरानै प्रवृत्ति दोहोर्‍याउला ? हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष पन्त
सन्तोष पन्त
लेखकबाट थप