आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा प्रकरण

संसद्लाई प्रहरीले लेख्यो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको पत्र, के होला सभामुखको कदम ?

बुधबार, ०७ चैत २०८०, १९ : ०१
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई गराएको छ । घिमिरेलाई बुधबार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले यस प्रकृतिको पत्र पहिलो पटक आएकाले अब के गर्ने भन्न नसकिने रातोपाटीलाई जानकारी दिए ।

संविधानको धारा १०३ (६) मा  ‘सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ भनिएको छ ।

‘तर अहिले जस्तो जानकारी यसअघि आएको थिएन । यो संविधानमा उल्लेख नभएको विषय भयो’, गिरीले भने ।

सीआईबीको पत्र सभामुख समक्ष पुगेकाले के गर्ने भन्ने विषय सभामुखले नै तय गर्ने गिरीले बताए । 

यसअघि छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको अभियोगमा विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो । अहिले अदालतको आदेश बमोजिम उनलाई थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप