सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

दोस्रो खेलमा पनि नेपालले आयरल्यान्ड ‘ए’ लाई हरायो

मङ्गलबार, १३ चैत २०८०, १६ : २८
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सोमपाल कामी र कुशल मल्लले तीन–तीन विकेट लिए । सोमपालले २.३ ओभरमा १७ रन खर्चिए । कुशल मल्लले तीन ओभरमा १५ रन खर्चिएका थिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले पनि एक–एक विकेट हात पारे ।

आयरल्यान्ड ‘ए’ का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । मोर्गन टपिङले पनि टोलीको खातामा २१ रन थपे । आयरल्यान्डका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर रोस एडिर र कप्तान निल रकले पनि १७–१७ रन बनाए ।

cricket nepal

पहिले ब्याटिङ गरेको नेपालका लागि भने गुलसन झाले ४६ रनको योगदान गरेका थिए । कुशल मल्लले ३४ रन जोडे । कप्तान रोहित पौडेलले पनि ३३ रन बनाए । ओपनर कुशल भुर्तेलले टोलीको खातामा २५ रन थपे । अनिल साह १२ र ओपनर आसिफ शेख ११ रनमा आउट भए ।

सन्दीप जोराले २१ रन बनाए । विवेक यादव सात रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा नौ रन पायो । आयरल्यान्ड ‘ए’ का बलर म्याथ्यु फोष्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई विकेट हात पारे । गाभिन होए र फियोन ह्यान्डले पनि एक–एक विकेट हात पारे ।

आयरल्यान्ड ‘ए’ ले एकपछि अर्को गर्दै आफ्ना दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट सोमपाल कामीले लिएका काथिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि १३ बलमा एक छक्का र चार चौकाको मद्दतले २६ रन बनाएका थिए । पाँचौँ ओभरको अन्तिम बलमा स्टेफन आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।

त्यसलगत्तै आयरल्यान्डले आफ्नो दोस्रो विकेट गुमाएको थियो । आयरल्यान्डको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिर १७ रनको ब्यक्तिग स्कोरमा गलसन झाद्वारा क्याच गराएका थिए । ५.२ ओभरमा रोस आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।

Kushal Malla

आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिचललाई १८ रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । ११.१ ओभरमा केड आउट हुँदा आयरल्यान्डले ७५ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को चौथो विकेट करण केसीले लिएका थिए । उनले आयरल्यान्डका कप्तान निल रकलाई १७ रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रकले ११ बलमा दुई छक्का पनि हिर्काएका थिए । १४.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्डले एक सय रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई २१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । १५.१ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले एक सय आठ रन बनाएको थियो । कुशल मल्लले लिएको यो दोस्रो विकेट थियो ।

आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट पनि कुशल मल्लले नै लिएका थिए । आयरल्यान्डका गाभिन होएलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल मल्लले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए ।  १५.५ ओभरमा गाभिन आउट हुँदा आयरल्यान्डले एक सय १० रन बनाएको थियो । कुशल मल्लले लिएको तेस्रो विकेट थियो ।

sss

आयरल्यान्ड ‘ए’ को सातौँ विकेट विवेक यादवले लिएका थिए । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई पाँच रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । १७.४ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्डले एक सय २२ रन बनाएको थियो । 

आयरल्यान्ड ‘ए’ को आठौँ विकेट सोमपाल कामीले लिएका थिए । उनले आयरल्यान्डका तल्लोक्रमका ब्याट्सम्यान लियाम म्याकार्थीलाई एक रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सोमपालले लिएको यो दोस्रो विकेट थियो । १८.१ ओभरमा लियाम आउट हुँदा आयरल्यान्डले एक सय २७ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को नवौँ विकेट पनि सोमपाल कामीले नै लिएका थिए । उनले आयरल्यान्डका बेन ह्वाइटलाई खाता खोल्नुअघि नै पेभेलियन फर्काएका थिए । उनले आफ्नो बलिङमा आफैले ह्वाइटको क्याच लिएका थिए । १८.२ ओभरमा ह्वाइट आउट हुँदा आयरल्यान्डले एक सय २७ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को अन्तिम विकेटका रूपमा गारेथ डलानी पेभेलियन फर्किएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान डेलानी १५ रन बनाउँदै रन आउट भएका थिए । उनलाई कप्तान रोहित पौडेलले रन आउट गराएका थिए । म्याथ्यु फोष्टर शून्य रनमा अविजित रहे । आयरल्यान्डले अतिरिक्त रूपमा ६ रन पाएको थियो । 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान असिफ नौ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले विकेटकिपर स्टेफन डोहेनीद्वारा क्याच गराएका थिए । २.५ ओभरमा आसिफ आउट हुँदा नेपालले ३४ रन बनाएको थियो ।

Aasif Sheikh

नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल २५ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले १६ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई आयरल्यान्डका बलर फोष्टरले गारेथ डेलानीद्वारा क्याच गराएका थिए । ४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनिल ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर फियोन फिलिप ह्यान्डले विकेटकिपर डोहेनीद्वारा क्याच गराएका थिए । ६.५ ओभरमा अनिल आउट हुँदा नेपालले ५६ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । उनी केवल चार रनका कारण अर्धशतक बनाउनबाट चुकेका थिए । गुलसन ४६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३२ बलमा चार छक्का र एक चौका पनि हिर्काएका थिए ।

rohit gulsan

चौथो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कप्तान निल रकद्वारा क्याच गराएका थिए । १३.५ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो । कप्तान रोहित पौडेल र गुलसनले टोलीका लागि ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित टोलीका लागि महत्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले पेभेलियन फर्किनुअघि ३३ रन बनाएका थिए ।

रोहितले केवल २४ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । उनलाई आयरल्यान्डका बलर गाभिन होएले रकद्वारा क्याच गराएका थिए । १६औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले एक सय ५७ रन बनाएको थियो । 

नेपालले छैटौँ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनले टोलीका लागि आक्रामक पाली खेल्दै ३४ रन बनाएका थिए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई आयरल्यान्डका बलर ह्वाइटले डेलानीद्वारा क्याच गराएका थिए । १७.४ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ७४ रन बनाएको थियो ।

jora

नेपालले सातौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी २१ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले केवल १० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । उनलाई अन्तिम ओभरको अन्तिम बलमा आयरल्यान्डका बलर फोष्टरले रोस एडिरद्वारा क्याच गराएका थिए ।

darsak

आयरल्यान्ड ‘ए’ विरुद्धको शृंखलाको बाँकी खेल अब नेपाल ‘ए’ टोलीले खेल्नेछ । आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय शृंखला खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप