आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्कीको अधिवेशन : मतदान जारी, ७ जना सर्वसम्मत निर्वाचित

मङ्गलबार, १३ चैत २०८०, २१ : ४५
मङ्गलबार, १३ चैत २०८०

पोखरा । नेकपा एमाले कास्कीको एघारौँ अधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ । आगामी २ वर्षका लागि नयाँ कमिटीको निर्वाचन हुन लागेको हो । अधिवेशन अन्तर्गत अध्यक्षमा ३ जनाको दाबेदारी परेको छ । बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठी चुनावी प्रतिस्पर्धामा छन् ।

उनीहरू प्यानल सहित चुनावमा होमिएका हुन् । क्षेत्री प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी उम्मेदवार छन् । यस्तै, बास्तोला प्यानलबाट उपाध्यक्षमा शिवप्रसाद आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र गीतादेवी विश्वकर्मा छन् ।

५ जना खुला सदस्यका लागि १५ जना, ३ जना महिला सदस्यका लागि ७ जना, ११ युवा सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ । यस्तै, ६ युवा महिला सदस्यका लागि १३ जना, जनजाति ४ जनाका लागि १० जना, ३ जना जनजाति महिलाका लागि ९ जना, १ जना अल्पसङ्ख्यक लागि ३ जना, अल्पसङ्ख्यक १ जना महिलाका लागि ३ जना, मजदुर खुला तर्फ २ जनाका लागि ४ जना, मजदुर महिला १ जनाका लागि २ जनाको उम्मेदवारी छ ।

दलित खुलातर्फ ६ जना आवश्यक पर्नेमा १८ जना, दलित महिला ३ जनाका लागि १२ जना, विद्यार्थी तर्फ १ जनाका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका निर्वाचन समिति सदस्य शंकर सैंजुले जानकारी दिए । भूगोलतर्फ अन्नपूर्ण गाउँपालिका क्लष्टरको ४ सदस्यका लागि ७ जना, सोही क्लष्टरको महिलातर्फ २ जना चाहिनेमा ४ जना, माछापुच्छ्रेको खुलामा ४ जनाका लागि ८ जना, महिलातर्फ २ जना चाहिनेमा ४ जनाको उम्मेदवारी छ । 

मादीको खुलामा ५ जनाका लागि १० जना, रुपा गाउँपालिकाको ३ जना चाहिनेमा ६ जना, क्षेत्र नम्बर १ (क) पोखराको ४ जना चाहिनेमा ८ जना, महिलामा २ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ (ख) पोखराको खुलातर्फ ४ जनाका लागि ८ जना, महिला २ जनाका लागि ४ जना, क्षेत्र नम्बर २ (क) पोखराको खुलामा ४ जनाका लागि ८ जना, महिलामा २ जनाका लागि ३ जना, क्षेत्र नम्बर २ (ख) खुलामा ४ जनाका लागि ८ जना र महिलामा २ जनाका लागि ५ जना उम्मेदवार छन् । 

क्षेत्र नम्बर ३ (क) पोखराको खुलामा ७ जना, महिलामा ४ जना, क्षेत्र नम्बर ३ (ख) खुलामा ९ जना र महिलामा ५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । लेखा समिति अध्यक्ष बन्न २ जना, उपाध्यक्षमा २ जना, सचिवमा २ जना उम्मेदवार छन् भने खुला सदस्य २ जनाका लागि ६ जना तथा महिलामा २ सदस्यका लागि ५ जना उम्मेदवार छन् ।

  • ७ जना सर्वसम्मत

अधिवेशन अन्तर्गत ४ क्लष्टरमा ७ जना सर्वसम्मत निर्वाचित भएका छन् । अपाङ्गता कोटामा गंगाबहादुर खड्का, बुद्धिजीवी कोटामा दुर्गा भण्डारी र विजय शर्मा सर्वसम्मत भए । यस्तै, मादीको महिला क्लष्टरमा कल्पना गुरुङ र विष्णुमाया पौडेल तथा रुपाको महिला क्लष्टरमा कशिरन मियाँ र हिताकुमारी रुपाखेती पनि सर्वसम्मत निर्वाचित भएका हुन् । अरू सबै पदमा अहिले मतदान चलिरहेको छ । १६ वटा मेशिनबाट मतदान भइरहेको सैंजुले बताए । उनका अनुसार एकजनालाई मतदानका लागि २० मिनेटसम्म समय लाग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप