शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विराट गोल्डकप : उद्घाटन खेल भुटान र नेपाल पुलिसबिच हुने

बिहीबार, १५ चैत २०८०, १० : ०५
बिहीबार, १५ चैत २०८०

विराटनगर । विराटनगरको सहिद रङ्गशालामा आजदेखि विराट गोल्डकप फुटबलको आठौँ संस्करण सुरु हुँदैछ । फ्लड लाइटको सहारामा रात्रिकालीन हुने गोल्डकपको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) बीच हुनेछ । 

दुवै टोली प्रतियोगिताको पूर्व विजेता हुन् । विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।

खेल तालिका अनुसार गोल्डकपमा घरेलु टोली साङ्ग्रिला मोरङ फुटबल क्लब र पाहुना टिम भारतको सिक्किम ड्रेगानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ ।

 समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा विजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । १८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी फुटबल क्लब काठमाडौँबिच शुक्रवार हुने विजेता टिमसँग बाई पाएर समूह बी बाट भारतको सिक्किम ड्रेगानले प्रतिस्पर्धा गर्नेछ । 

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । समूह ‘बि’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसि रहेका छन् । 

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रस्टले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी हुने ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । 

गोल्डकप ट्रस्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशी भने घटाएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेतालाई नगद २० लाख १५ हजार  र  उपविजेतालाई १० लाख  १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्षको गोल्डकपमा  आयोजकलाई ८७ लाख १ हजार ४८  रुपैयाँ घाटा भएको थियो । 

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ । 

साँझको ६ बजे  बजेदेखि सुरू हुने गोल्डकपको २००, ३०० र ५०० रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गत वर्षको सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप