शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२०० औँ खेल खेलेका रोहित शर्मालाई सचिनको विशेष उपहार

बिहीबार, १५ चैत २०८०, ११ : ००
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा विश्व चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का पनि सर्वाधिक सफल खेलाडी हुन् । उनी आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान पनि हुन् । 

उनको कप्तानीमा मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हाल उनी टोलीको कप्तान छैनन् । तर, आईपीएलको १७औँ संस्करणमा पनि उनी खेलाडीका भूमिकामा मुम्बई इन्डियन्समा आबद्ध छन् । 

सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच बुधबार राति खेलिएको खेल रोहित शर्माका लागि आईपीएलमा दुई सयौँ खेल थियो । यद्यपि, उक्त खेलमा मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको थियो । 

पूर्वकप्तान रोहित शर्मालाई आईपीएलमा दुई सयौँ खेल खेलेको अवसरमा भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करले उपहार पनि दिएका छन् । आफ्नो अभूतपूर्व खेल कौशलका कारण क्रिकेटको भगवानका रुपमा परिचय बनाएका सचिनले रोहित शर्मालाई विशेष जर्सी उपहार दिएका हुन् ।

रोहित शर्मा आईपीएलको पहिलोदेखि १७ औँ संस्करणसम्म निरन्तर सहभागिता जनाउने पाँच खेलाडीमध्ये एक पनि हुन् । सचिन तेन्दुल्करले उपहार दिएको जर्सीमा रोहित शर्माको नामसँगै ‘२००’ नम्बर पनि छापिएको छ । विशेष उपहारका लागि रोहितले सचिनप्रति आभार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप