शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो

बिहीबार, १५ चैत २०८०, १४ : ५८
बिहीबार, १५ चैत २०८०

मेलबर्न । अस्ट्रेलियाले विदेशी विद्यार्थीसम्बन्धी भिसा नियम कडा बनाएको छ । आप्रवासी सङ्ख्या कीर्तिमानी उचाइमा पुगेको सरकारी तथ्याङ्कले देखाएकै समयमा अस्ट्रेलियालेले नियम कडा बनाएको हो । 

नयाँ नियम मार्च २३ देखि लागू भएको छ । यो नियमले विद्यार्थी भिसामा आउनेहरूको अङ्ग्रेजी भाषाको मापदण्ड कडा पारेको छ । नयाँ नियमले बारम्बार नियम मिच्ने विश्वविद्यालयहरूलाई विदेशी विद्यार्थी भर्ना गर्नबाट रोक्ने अधिकार पनि सरकारलाई दिनेछ । 

यो साता चालिएको यस पहलले आप्रवासीको सङ्ख्या निरन्तर कम गर्ने र अध्यागमन प्रणालीमा देखिएको दरार पुर्ने काम गर्ने गृह मामिला मन्त्री क्लेयर ओ’निलले एउटा विज्ञप्तिमा भनेका छन् । अस्ट्रेलियामा पढ्ने नभएर कमाउने वा काम गर्ने नियत राखेर आउने विद्यार्थीहरूको आगमन पूरै रोक्न नयाँ ‘असली विद्यार्थी परीक्षा’ लागू गरिने उनले बताएका छन् । 

यसबाहेक पनि भिजिटर भिसामा थप बस्न नपाउने सर्त कडाइका साथ लागू गरिने भएको छ । गएको वर्ष अस्ट्रेलियाले कोभिड युगमा सुरु गरिएको छूटहरू अन्त्य गर्न कयौँ कदम चालेको थियो । यसमा विदेशी विद्यार्थीलाई असीमित घन्टासम्म काम गर्न दिने नीति पनि परेको थियो । 

कोभिडको महामारीका कारण व्यवसायहरूले सामना गर्नु परेको कर्मचारी अभावको स्थितिलाई सम्बोधन गर्न अस्ट्रेलियाले सन् २०२२ मा वर्षभरिमा आउन पाउने आप्रवासीहरूको सङ्ख्या बढाएको थियो । तर अचानक विदेशी कामदार र विद्यार्थीको सङ्ख्या बढेपछि पहिला देखि नै दबाबमा रहेको घरभाडा बजारमा चाप बढेर थेग्नै नसक्ने भएको थियो । 

सन् २०२४ को जनवरीसम्ममा अस्ट्रेलियामा ५ लाख ६७ हजार विदेशी विद्यार्थी रहेको शिक्षा मन्त्रालयको आँकडाले देखाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशत धेरै हो । अस्ट्रेलियामा अधिकांश विदेशी विद्यार्थी एसियाका छन् । शिक्षा मन्त्रालयका अनुसार देशका आधारमा विदेशी विद्यार्थीको सबैभन्दा ठुलो जमात चिनियाँ, भारतीय, नेपाली, फिलिपिनी र भियतनामी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप