आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यी चिजसँग खान हुन्न दही

आइतबार, १८ चैत २०८०, १७ : ०४
आइतबार, १८ चैत २०८०

काठमाडौँ । स्वास्थ्यका लागि दहीलाई निकै राम्रो मानिन्छ । यसमा क्याल्सियम, प्रोटिन, राइबोफ्लेविन, भिटामिन बी६ र भिटामिन बी १२जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ । साथै, दही ल्याक्टिक एसिडको राम्रो स्रोत पनि हो । पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, तौल घटाउन र हड्डी बलियो बनाउन पनि दहीले मद्दत गर्छ ।

तर, धेरैजसो मानिसहरू गलत तरिकाले र गलत चिजसँग दही खाने गर्छन् । जसले गर्दा उनीहरूलाई लाभको सट्टा हानी हुन्छ । छालाको समस्या, कपाल झर्ने, कब्जियत, ग्यास, एसिडिटी, खोकी, रुघाखोकी, ज्वरो जस्ता स्वास्थ्य समस्या समेत देखिन सक्छ । आजको यस लेखमा हामीहरू आयुर्वेदका अनुसार कुन चीजसँग दही खानु हुँदैन, दही खाने उपर्युक्त समय कुन हो ? भन्नेबारे कुराकानी गर्नेछौँ ।

दहीसँग कुन चीजहरू खानु हुँदैन ?

आयुर्वेदका अनुसार दही खानु अमृत खानु जस्तै हो । तर दही खाने बेलामा अरू कुन–कुन चिज खाइरहेको छ भन्ने चाहिँ ध्यान दिनुपर्छ ।

दुग्धजन्य पदार्थ

दुग्धजन्य पदार्थको साथमा दही खाँदा एसिडिटी, छातीमा जलन र सुन्निने जस्ता समस्या देखिन सक्छ । दुवै दुग्धजन्य पदार्थमा फ्याटको साथमा प्रोटिनको मात्रा बढी हुन्छ ।

टेबल सल्ट

टेबल सल्टलाई प्रशोधित गर्न धेरै खाले रसायनको प्रयोग गरिएको हुन्छ । रासायनिक प्रशोधन गरिएको नुनलाई दहीमा हालियो भने त्यसमा पाइने प्रोबायोटिक्स निकै घट्न सक्छ वा पूरै नष्ट हुन सक्छ । यस्तो अवस्थामा दही खाँदा शरीरलाई कुनै फाइदा हुँदैन । दहीमा नुन राख्ने नै हो भने बिरे नुन वा रक नुन मिसाएर खान विज्ञहरूले सल्लाह दिन्छन् ।

प्याज र काँक्रो

कतै कतै दहीमा प्याज वा काकडी मिसाएर राइता बनाउने चलन पनि छ । तर त्यसो गर्नु स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । प्याजले शरीरमा गर्मी गराउँछ भने र दहीले चिसो । त्यसैले पनि यी दुई चिज सँगै खानु हुन्न । यसो गर्दा छालासँग सम्बन्धित समस्या निम्तिन सक्छ । काँक्रोमा प्रचुर मात्रामा पानी हुन्छ, काँक्रो र दही दुवैले शरीरलाई शीतल राख्छ । हामीले एकै पटक यी दुई चिज खाँदा पाचन प्रणालीको सन्तुलन बिग्रन सक्छ र पाचनमा समस्या निम्त्याउन सक्छ ।

तारेको/भुटेको खानेकुरा

दहीलाई हामी पराठा, भटुरा वा पुरी जस्ता तारेको वा बढी तेल राखेर बनाइएको खानेकुरासँग पनि खान्छौँ । यसो गर्दा पाचन प्रक्रिया सुस्त हुन्छ । यसले हामीलाई दिनभर अल्छी महसुस गराउँछ ।

अमिलो फलफूल

सुन्तला, अङ्गुर र कागती जस्ता अमिलो फलफूलमा एसिडिटी बढी हुन्छ । दही पनि एसिडिटी बढी हुन्छ । यस्तो अवस्थामा दुवै चिज एकै पटक खानाले पेटको पीएच स्तरमा गडबडी हुन्छ अनि पेट फुल्ने, कब्जियत, अपच, छाती पोल्ने वा पेट दुख्ने जस्ता समस्या निम्त्याउन सक्छ ।

आँप

आँपको र दही एकै चोटि सेवन गर्दा छाला चिलाउने, पेट फुल्ने, अपच र अन्य धेरै समस्या हुन सक्छ । आँपलाई दहीमा मिसाएर सेवन गर्दा शरीरमा चिसो र गर्मी दुवै हुन सक्छ । जसका कारण छाला सम्बन्धी समस्या आउन सक्छ । यसले पाचन प्रणालीलाई असन्तुलित गर्न सक्छ । 

राती दही खानु हुन्छ ?

आयुर्वेदका अनुसार सूर्यास्तपछि शरीरको तापक्रम घट्न थाल्छ र हाम्रो शरीरमा कफ दोष बढ्न थाल्छ । दहीले हाम्रो शरीरमा कफ दोष बढाउँछ । यस्तो अवस्थामा राती दही खाँदा खोकी  लाग्ने, जोर्नी दुख्ने र पाचन प्रणाली कमजोर हुन सक्छ । त्यसैले सूर्यास्तपछि दही खानु हुँदैन ।

दही खाने सबैभन्दा राम्रो समय बिहान वा दिउँसो हो । बिहान दही खाँदा पाचन प्रणाली मजबुत रहन्छ र शरीरलाई दिनभर ऊर्जा प्रदान गर्छ । दिउँसो दही खाँदा शरीरलाई ताजा राख्छ र शरीरलाई चिसो बनाउन पनि मद्दत गर्छ ।

कुन मौसममा दही खानु हुँदैन ?

दही पचाउन समय लाग्छ । यस्तोमा वर्षायाममा दही खानु हुँदैन । वर्षायाममा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । यस्तोमा दही खाँदा रुघाखोकी लाग्ने, जोर्नी दुख्ने वा अपच जस्ता समस्या हुन सक्छ । जाडो या गर्मी मौसममा दही खान सकिन्छ ।

ताजा दही खानु किन फाइदाजनक हुन्छ ?

दहीलाई सुपरफुड मानिन्छ । यो सेवनका धेरै फाइदा छन् । दही पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । यो प्रोटिन र क्याल्सियमको राम्रो स्रोत हो । यसमा बी कम्प्लेक्स भिटामिन, फस्फोरस, पोटासियम र म्याग्नेसियम पनि पाइन्छ । यसले अघाइएको महसुस गराउँछ । गर्मी होस् या जाडो हरेक मौसममा दही खानु फाइदाजनक हुन्छ ।

शरीरको तापक्रम नियन्त्रणमा राख्छ

शरीरको तापक्रम नियन्त्रण गरेर दहीले गर्मीबाट राहत प्रदान गर्न मद्दत गर्छ । यसले गर्मीमा हाम्रो शरीरलाई शीतल राख्छ र ताजा दहीमा प्रोटिन र धेरै पोषक तत्त्व पाइन्छ । दही खाँदा पाचन प्रणाली स्वस्थ रहन्छ ।

प्रोबायोटिक्सको उत्कृष्ट स्रोत

दही प्रोबायोटिक्सको राम्रो स्रोत हो । प्रोबायोटिक्सले पाचन प्रणाली र प्रतिरक्षा प्रणालीको लागि धेरै महत्त्वपूर्ण मानिएको आन्द्राको ब्याक्टेरियालाई स्वस्थ र सन्तुलित राख्न मद्दत गर्छ ।

शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ

दहीमा पानीको मात्रा धेरै हुन्छ  । त्यसैले यसको सेवनबाट शरीरलाई हाइड्रेटेड राख्न मद्दत मिल्छ । गर्मीमा डिहाइड्रेसन हुने खतरा धेरै हुन्छ । त्यसैले गर्मी मौसममा दही खानु निकै फाइदाजनक हुन्छ ।

पोषक तत्त्वहरूले भरपुर

दही प्रोटिन, क्याल्सियम, भिटामिन बी १२ र फस्फोरस जस्ता आवश्यक पोषक तत्त्वहरूको राम्रो स्रोत हो । शरीरलाई स्वस्थ राख्न यी सबै पोषक तत्त्वहरू चाहिन्छ ।

पाचन प्रणाली स्वस्थ राख्छ

दहीमा पाइने गुड ब्याक्टेरिया, इन्जाइम र ल्याक्टिक एसिडले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले पेटको स्वास्थ्य सुधार्छ र पाचनलाई स्वस्थ राख्छ ।

छाला स्वस्थ राख्न

दही छालालाई स्वस्थ राख्न चाहनेका लागि राम्रो  प्राकृतिक स्रोत हो । दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले छालालाई एक्सफोलिएट र मोइस्चराइज गर्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप