बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
ढिलासुस्ती

वायुसेवा निगमको जहाज खरिद प्रक्रिया : कम्पनी छान्दैमा ६ महिना बित्यो

कहिले आइपुग्छ भाडाको दुई वटा जहाज ?
बुधबार, २१ चैत २०८०, ११ : ५२
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाल वायु सेवा निगम (एनएसी) ले तीन वटा जहाज खरिदका लागि गृहकार्य सुरु गरेको ६ महिना बितेको छ । जहाज खरिदका लागि निगमले टेन्डर आह्वान गरेकै ६ महिना बितिसकेको छ ।

निगमले डोमेस्टिक (आन्तरिक) उडानका लागि तत्काल तीन वटा न्यारोबडी जहाज गरिद गर्नेगरी गत २२ अक्टोबर, २०२३ (कात्तिक ५ गते) गते ४५ दिने सूचना जारी गर्दै अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । ५ डिसेम्बर, २०२३ सम्म दरखास्त हाल्ने अन्तिम म्याद रहेकोमा तीन वटा कम्पनीले दरखास्त हालेका थिए ।

हिन्दुस्तान एओरोनोटिकल लिमिटेड (इन्डिया), डी हाविल्याण्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रसिट्रज (चेक रिपब्लिका) ले टेन्डरमा भाग लिएका थिए । तर, आवेदन परेको तीन महिना बितिसक्दा समेत निगमले थप निर्णय लिन सकेको छैन ।

निगमका प्रवक्तासमेत रहेका बजार व्यवस्थापन विभागका निर्देशक रमेश पौडेल हाल कम्पनी छनोटकै प्रक्रियामा रहेको बताउँछन् । ‘केही प्राविधिक कारणले गर्दा जहाज खरिद प्रक्रियामा ढिलाइ हुन गयो । यो हामीले महसुस गरेका छौँ,’ प्रवक्ता पौडेलले रातोपाटीसँग भने, ‘तर काम रोकिएको छैन । जहाज खरिद तथा छनोट समितिले आएको आवेदनहरू मध्येबाट उत्कृष्ट कम्पनी छनोट गर्दैछ ।’

अब केही दिनभित्रै जहाज खरिदका लागि कम्पनी छनोट हुने उनले बताए । खासगरी वायु सेवा निगमले नेपालका दुर्गम क्षेत्रमा उडान भर्न सक्ने गरी आफ्नो अनुभव र उपलब्ध स्रोत साधनले चलाउन सक्ने तीन वटा ‘ट्वीनअटर’ जहाज खरिद गर्न लागेको हो । हाल सञ्चालनमा रहेका दुई ट्वीनअटर जहाजले मात्र अहिलेको माग र सेवालाई पूर्णता दिन नसकिएको भन्दै निगमले थप सेवा विस्तारका लागि जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिदका लागि निकै बल गरेका थिए । उनकै जोडबलमा अघि बढेको जहाज खरिद प्रक्रिया उनी बाहिरिएसँगै पुनः अन्योल बन्न पुगेको छ । तर जहाज खरिद प्रक्रिया नरोकिने निगमले प्रस्ट पारेको छ ।

तीन वर्षअघि २०७७ भदौमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नै आन्तरिक उडानका लागि थप जहाज आवश्यक रहेको भन्दै जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन निगमको व्यवस्थापनलाई निर्देशन दिएका थिए । जतिबेला निगमको व्यवस्थापन समितिको कार्यकारी अध्यक्ष सुशील घिमिरे थिए भने निगमको महानिर्देशक डिमप्रकाश पौडेल थिए ।

त्यसपछि अध्यक्ष घिमिरेको नेतृत्वमा जहाज खरिद उपसमिति गठन गरिएको थियो । उक्त समितिले २ वटा एटीआर र ३ वटा साना ट्वीनअटर जहाज खरिद गर्न आवश्यक रहेको औँल्याएको थियो । सोही उपसमितिको सुझाव र आवश्यकतालाई मनन् गर्दै हाल पहिलो चरणमा निगमले तीन वटा ट्वीनअटर जहाज खरिद गर्न लागेएको प्रवक्ता पौडेलको भनाइ छ ।

भाडाको जहाजका लागि ७ वटा आवेदन

तीन वटा जहाज खरिद प्रक्रियाको टुङ्गो नलाग्दै निगमले दुई वटा जहाज भाडामा ल्याउने प्रक्रिया समेत अघि बढाएको छ । हाल निगमसँग भएको दुई वटा वाइडवडी र अन्य दुई वटा न्यारोबडी जहाजले अन्तर्राष्ट्रिय उडानको माग धान्न नसकेको भन्दै निमगले थप सेवा विस्तारका लागि तत्काल दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागेको हो ।

वेट लिज (जहाज, चालकदल, जहाज मर्मत खर्च, इन्स्योरेन्स लगायतको खर्च समेत भाडा लगाउने कम्पनी आफैँले बेहोर्नेगरी) निगमले दुई वटा जहाज भाडामा लिन लागेको हो ।

६ फेब्रुअरी, २०२३ (२०८० माघ २३ गते) सार्वजनिक सूचना जारी गर्दै निगमले देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिति देखाइ विदेशी पर्यटकहरूलाई सेवा दिने उद्देश्यले दुई वटा न्यारोवडी जहाज ‘वेट लिज’मा लिन लागिएको बताएको थियो । जहाज लिजमा लिने प्रक्रिया पारदर्शी ढङ्गले गर्नका लागि तालुक मन्त्रालयको समेत सहमति लिइ सार्वजनिक खरिद ऐन, नियम बमोजिम अन्तर्राष्ट्रिय बोल कबोल आह्वान गरिएको निगमले बताएको थियो ।

आफूसँग भएको दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग भइरहेको र अन्य ठाउँमा दुई वटा न्यारोबडी जहाजले माग धान्न नसक्ने भएकाले जहाज थप गर्न लागिएको निगमको भनाइ छ । थप भएका जहाजले मागको चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसियालगायत क्षेत्रमा उडान भर्ने गरी आय बढाउने र भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान गर्ने योजना रहेको निगमले लिएको छ ।

वेट लिजमा लिने जहाजमा न्यूनतम १५० सिट हुनुपर्ने शर्त राखेको निगमले जहाजमा इन्टरनेट सुविधा भए वाञ्छनीय हुने बताएको छ । यस्तो भाडाको जहाजले महिनामा कम्तीमा ३१० घण्टा उडानको ग्यारेन्टी दिनुपर्नेछ ।

यस्तै लिज अवधिभर जहाजलाई चाहिने आवश्यक पार्टपुर्जा तथा सर्भिस सेवा जहाज भाडा प्रदायक कम्पनीले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राख्नुपर्नेछ । लिजको जहाजमा अनिवार्य रुपमा नेपाल एयरलाइन्सको नाम र लोगो हुनुपर्ने शर्त टेन्डरमा राखिएको छ ।

तर, टेन्डरको अन्तिम म्याद २२ मार्च, २०२४ (चैत ९ गतेसम्म रहेकोमा) करिब २ महिनापछि निगमका लागि जहाज भाडामा दिन ७ वटा कम्पनी इच्छुक भएको प्रवक्ता पौडेलले रातोपाटीलाई बताए ।

‘जहाज भाडामा लिने गरी गरिएको अन्तर्राष्ट्रिय टेन्डरमा हालसम्म ७ वटा कम्पनीको आवेदन परेको छ । अहिले कम्पनी छनोटको अन्तिम तयारी भइरहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘यो आन्तरिक तयारी भएकाले कुन–कुन कम्पनीको आवेदन परेको छ भन्ने सार्वजनिक गर्न मिल्दैन ।’

टेन्डर पत्रमै उल्लेख गरिए अनुसार जुलाई २०२४ सम्ममा दुई वटा जहाज निगमको उडानमा आइसक्नेगरी कम्पनी छनोट र सम्झौताको प्रक्रिया अघि बढिरहेको प्रवक्ता पौडेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप