बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनको टिकटबारे कांग्रेसमा रस्साकस्सी, कसको पक्षमा छ ग्राउन्ड रिपोर्ट ?

बुधबार, २१ चैत २०८०, १२ : ११
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सकस परेको छ । आगामी वैशाख १५ मा हुने इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको हो । 

टिकटका आकाङ्क्षी र पार्टीका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरेपनि सभापति शेरबहादुर देउवा टुङ्गोमा पुग्न सकेका छैनन् । सोमबार र मंगलबार शीर्ष नेतासँगको छलफलमा इलाम—२ मा डम्बर खड्का कि भेषराज आचार्य भन्ने लामै गलफती चलेको थियो । सभापति देउवाले बुधबार दिउँसो २ बजे कार्यसम्पादन र ४ बजे संसदीय बोर्डको बैठक बोलाएका छन् ।

कांग्रेसको इलाम—२ निर्वाचन क्षेत्रीय समिति, जिल्ला सभापति र कोशी प्रदेश कार्यसमितिले आचार्यको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । तर, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्दम्बेले गरेको ग्राउन्ड रिपोर्टमा खड्कालाई दोहोर्‍याउन उपयुक्त हुने उल्लेख छ । 

कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्री शर्माको रिपोर्ट अनुसार चुनावी मैदानमा आचार्यभन्दा खड्का अगाडि रहेको बताए । ‘चुनावी मैदानमा डम्बर खड्का बलियो छन् । पार्टी संगठनका साथीहरूले भेषराज आचार्यको नाम पहिलो नम्बरमा सिफारिस गर्नु भएको छ,’ विश्वकर्माले भने ।

उनका अनुसार २०७९ मा भएको निर्वाचनमा एमालेबाट विजयी सुवास नेम्बाङको गत भदौमा निधन भएपछि खड्काले चुनावी तयारी थालिसकेको थिए । ‘सुवास नेम्बाङको निधन भएपछि डम्बरलाई चुनाव लड्नुपर्छ भन्ने भइगो । अरूको तयारी देखिएको छैन । चुनावको तयारी गर्न जम्मा २२ दिन छ ,’ उनले भने । 

नेम्बाङको निधनपछि इलाम—२ मा पाँच वर्षका लागि खड्काको हक रहने देउवाको तर्क छ । नेता शेखर कोइरालाले इलाम—२ मा खड्काको भन्दा भेषराजको व्यक्तित्व राम्रो रहेकोमा जोड दिइरहेका छन् । 

खड्कालाई पूर्व जिल्ला सभापति हिमाल कर्माचार्य, इलाम उपसभापति खगेन्द्र देवाङ, केशव थापा, नगेन्द्र कुमाल लगायतको समर्थन रहेको विश्वकर्माको दाबी छ । 

‘मलाई दिए मैले जित्छु । मलाई दिनुहुन्न भने चुनाव चाहिँ डम्बरले जित्छ भनेर सभापतिलाई सन्देश गएको छ । त्यसपछि सभापतिले डम्बरको नाम प्रस्ताव गर्नु भएको हो,’ उनले भने ।

पार्टीको १४ औँ महाधिवेशनमा पनि इलामको जिल्ला सभापतिका लागि खड्का र आचार्यको भिडन्त भएको थियो । जसमा खड्काले बाजी मारेका थिए ।

इलाम—२ को उपनिर्वाचनको टिकटका लागि पनि खड्का र आचार्यबिच मुख्य भिडन्त देखिएको छ । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप