बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

दोहोरिएका खड्काले गराउलान् इलाम-२ मा कांग्रेसको ‘कम्ब्याक’ ?

नवोदित रास्वपाको उपस्थिति र पहिचानवादी आन्दोलन चुनौति
बिहीबार, २२ चैत २०८०, १३ : ३०
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले इलाम—२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का नेपाली कांग्रेस इलामको जिल्ला सभापति हुन् । 

उनी २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भए । २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका उनी कांग्रेसको १२औँ महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।

१३ औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका उनी १४ औँ महाधिवेशनमा जिल्ला सभापति बन्न सफल भए ।   इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्का गत वर्ष मङ्सिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए ।

त्यतिबेला नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङसँग ११४ मतले पराजित भएका खड्कालाई नै कांग्रेसले उपचुनावमा उम्मेदवार बनाएको छ ।

dambar khadka

भदौ २५ गतेमा नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा उपनिर्वाचनका लागि कांग्रेसमा लामै रस्साकस्सी चलेको थियो । टिकटका लागि भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राईको दाबी रहे पनि पार्टी सभापति शेरबहादुर देउवाले खड्कालाई नै रोजेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्दम्बेले तयार गरेको इलाम-२ को अध्ययन रिपोर्टले खड्कालाई नै बलियो देखाएको थियो । इलाम-२मा करिब ६५ प्रतिशत जनजाति र ३५ प्रतिशत खसआर्य मतदाता रहेको कांग्रेसको विश्लेषण छ ।

नेताहरूका अनुसार एमाले, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमत र स्वतन्त्र उम्मेदवार जनजाति समुदायबाट मैदानमा आएपछि कांग्रेसले रणनीतिक रूपमा खसआर्य समुदायका खड्कालाई अगाडि सारेको छ ।

महामन्त्री शर्माले पार्टी एकताबद्ध भएर लाग्दा इलाम-२ मा चुनाव जित्ने मौका आएको ब्रिफिङ गरेका थिए । इलाम—२ मा एमालेलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहे अडा मेहनत गर्नुपर्ने कांग्रेसको बुझाइ छ ।

२०७९ को निर्वाचनमा खड्कालाई माओवादी र एकीकृत समाजवादीको पनि साथ थियो । आगामी उपनिर्वाचनमा खड्कालाई माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ हुने छैन । माओवादीले यसपटक एमालेलाई साथ दिने भएको छ । यद्यपि एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । 

एमालेले इलाम-२ मा स्वर्गीय नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बुलाई अगाडि सारेको छ । कानुन व्यवसायी सुहाङ केही दिनअघि एमालेको कानुन विभागको सदस्यमा मनोनीत भएका थिए । रास्वपाले भने माओवादी केन्द्र छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बुलाई पार्टीमा ल्याएको हो । पत्रकार पृष्ठभूमिका लिम्बु माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका सचिव थिए ।

milan

आदिवासी जनजाति महासंघको महासचिवको जिम्मेवारी सम्हालेका लिम्बुलाई चैत १५ मा रास्वपाले टिकट दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरू इलाम चैत १७ मा पुगेर लिम्बुको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका थिए । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्।

उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी एमालेका कुशबहादुर थेवेसँग पराजित भएका थिए।

यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमदीप थाम्सुहाङ उम्मेदवार छन् भने पहिचानवादी समूहले डकेन्द्र थेगिमलाई स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि सारेको छ । गुरुङ राप्रपानिकट विद्यार्थी सङ्गठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् । 

जनमतका उम्मेदवार थाम्सुहाङ र स्वतन्त्र उम्मेदवार थेगिमले पहिचानवादी आन्दोलनकर्ताको छवि बनाएका छन् । थेगिम र थाम्सुहाङ कोशी प्रदेश खारेजीको माग गर्दै पहिचानवादीले गरेको आन्दोलनको अग्रमोर्चामा देखिन्थे ।

  • उपचनावमा रोचक भिडन्तको आँकलन

विगतको अंकगणितले इलाम-२ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दलका रूपमा स्थापित छन् । गत स्थानीय चुनावमा इलाम-२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् ।

कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, एकीकृत समाजवादीले २७७ र राप्रपाले १३० मत पाएका छन् ।

गत वर्ष मंसिरको आम चुनावमा इलाम– २ मा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आयो भने कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६, नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, सङ्घीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१, जसपा ९०६ र नेकपा एकीकृत समाजवादीको ५८६ मत थियो ।

इलामको संसदीय निर्वाचनमा एमालेको दबदबा देखिन्छ । २०१५ सालमा तत्कालीन इलाम पश्चिमबाट कांग्रेसका गणेशप्रसाद रिजाल र इलाम पूर्वबाट कृष्णबहादुर शाखे निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचन इलाम एमालेमय भयो । इलाम १ बाट एमालेका झलनाथ खनाल र इलाम २ बाट मणिकुमार लिम्बु निर्वाचित भए । २०५१ मा इलाम १ मा खनाल दोहोरिँदा २ मा कांग्रेसका कुलबहादुर गुरुङ निर्वाचित भए । २०५६ मा इलाममा ३ वटा निर्वाचन क्षेत्र तोकिँदा १ मा कांग्रेसका बेनुप प्रसाईं र ३ मा केशव थापाले जित्दा २ मा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए ।

२०६४ मा इलाम १ मा एमालेका खनाल र २ मा नेम्वाङ निर्वाचित भए भने इलाम–३ मा कांग्रेसका गुरुङले बाजी मारे । २०७० मा गुरुङको ठाउँमा कांग्रेसका थापा निर्वाचित भए भने अन्य दुई क्षेत्रमा उस्तै परिणाम आयो ।

दुई वटा निर्वाचिन क्षेत्र कायम हुँदा २०७४ र ०७९ को निर्वाचनमा कांग्रेस इलाममा निल भयो । उपचुनावमा एमालेको ध्येय आफ्नो बर्चश्व कायम राख्ने हुने छ भने कांग्रेस ‘कमब्याक’को खोजीमा । एमाले र कांग्रेसको भिडन्तमा चुनौती दिने रास्वपा र पहिचानवादी समूहका स्वतन्त्र उम्मेदवार थेगिमको तयारी छ ।

गत वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ-२ र चितवन-२ मा जित हासिल गरेको रास्वपा इलाम-२ को उपचुनाव जितेर पुराना दलको विकल्प बनिसकेको सन्देश दिने तयारीमा छ । स्वतन्त्र सांसद थेगिमलाई धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङ, आदिवासी जनताजित कलाकर्मीको दरिलो साथ छ ।

यद्यपि एमाले र कांग्रेसको बलियो संगठनलाई धक्का दिएर जित हासिल गर्न उनीहरूलाई सहज छैन । तर, नवोदित रास्वपाको जबरजस्त उपस्थिति र पहिचानवादी आन्दोलनले उद्वेलित पूर्वी नेपालको इलाम-२ मा चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप