आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निम अवार्ड : जुगललाई सङ्गीत रत्न, बले उत्कृष्ट मोडल घोषित

शुक्रबार, २३ चैत २०८०, ०७ : १३
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै ‘सातौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ सम्पन्न भएको छ । ललितपुरको होटल स्क्वायरमा बिहीबार बाँडिएको अवार्डमा यो वर्षको ‘रजत सङ्गीत सम्मान २०२४’ अग्रज सङ्गीतकार जुगल डङ्गोलले प्राप्त गरे ।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्वारा आयोजित समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज सङ्गीतकार डङ्गोललाई सम्मान प्रदान गरे ।

कार्यक्रममा सङ्गीतकार डङ्गोलको सम्मानमा गायिका निशा देशारले जुगलकै सङ्गीतको गजल साउनको भेल जस्तो... प्रस्तुत गर्दा बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।

संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापा लगायत सम्मानित भएको कार्यक्रममा ५ हजार ५५५ राशिको यो वर्षको सङ्गीत पत्रकारिता पुरस्कार रङ्ग पत्रकार हरि दुलालले पाए ।

संगीतमय वातावरणमा ४२ विधामा विभिन्न अवार्ड प्रदान गरिएको कार्यक्रममा आधुनिक गीत तर्फ नै नव गायकको अवार्ड राजु भट्टले, नव गायक जुरी अवार्ड सन्त बहादुर दराई, नव गायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे ।

त्यस्तै आधुनिक विधा तर्फ नै गायकको अवार्ड यस कुमारले, गायिकाको अवार्ड निता आचार्यले, सङ्गीतकारको अवार्ड नरहरि प्रेमीले, गीतकारको अवार्ड टेक तामाङले र आधुनिक महिला गीतकारको आवार्ड सविता पोख्रेलले जिते । 

यस्तै राष्ट्रिय भाव गीतको अवार्ड कर्माले, गलज तर्फको अवार्ड रुद्रशेखर शर्माले, गजलकै जुरी अवार्ड सङ्गीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ÷ सहिमा श्रेष्ठले सँयुक्त रूपमा पाए ।

पप गायन तर्फ गायकको अवार्ड डेविड शँकरले, गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बूले, लोक पपतर्फ गायनको अवार्ड नविन कार्कीले, गीतकारको अवार्ड अनिल तिखत्रीले, सङ्गीतकारको अवार्ड मानस राजले हासिल गरे ।

यस्तै लोकदोहोरी तर्फ नै पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड एन जेड  सालुले, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले, नव मोडल पुरुषको अवार्ड बसन्त उदासले र नव मोडल महिलाको अवार्ड मिशेल घिमिरेले हासिल गरे । 

समारोहमा लोक गीततर्फ मौलिक गीतको अवार्ड हेमन्त कान्छा रसाइली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगर, गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवर्ड ऋषि खड्काले, गायकको अवार्ड राम कुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपाने हासिल  गरे । 

समारोहमा नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्रफरको अवार्ड राहुल बराईलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे । सो क्रममा आधुनिक÷पप गीति तर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले, पुरुष मोडलको अवार्ड राज टाईगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हासिल गरे । 

प्राविधिक विधा तर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाकारको अवार्ड मुकेश हुमागाईले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए । 

समावेशी तर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरी तर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड वीरेन्द्र कुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हासिल गरे ।

यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जनले, सङ्गीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे । 

कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरूले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत सङ्गीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्त्वपूर्ण कार्यहरू पिम नेपालले आयोजना गरेर निकै प्रशंसनीय कार्य गर्दै आएको छ भने ।

चर्चित गायक सिताराम पोखरेल, राष्ट्रिय गीतका रचयिता व्याकुल माइला, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी लगायत व्यक्तिले अवार्ड प्रदान गरेका थिए । 

आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने, ‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलिने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र  गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।’ 

यस्तै नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले पहिलो शृङ्खलादेखि नै आफू सल्लाहकारको रूपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रूपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तव्य शान्तिप्रियले व्यक्त गरेका थिए । 

कार्यक्रममा अवार्ड संयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिइन् । सनम कठायतको व्यवस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माइला थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप