बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कर्णालीमा मुख्यमन्त्रीको नियुक्तिपछि भागबण्डाको पक्षमा एमाले

सभामुखमा माओवादीको दाबी
शुक्रबार, २३ चैत २०८०, १५ : ०९
शुक्रबार, २३ चैत २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएपनि नयाँ सरकार गठनमा भने सकस भइरहेको छ । सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार शर्माको राजीनामा पछि अबको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्नुपर्ने भएपनि सकस भइरहेको हो ।

प्रदेश प्रमुख तिलक परियारले चैत २७ गतेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका छन् । तर, माओवादीले ‘हाइ डिमाण्ड’ गरिरहेको एमालेका नेताहरू बताउँछन् । माओवादीले सभामुख र चार मन्त्रालय रोजेर नै लिन पाउनुपर्ने माग गरेको छ, त्यो पनि मुख्यमन्त्री नियुक्त भन्दा पहिला नै सम्बोधन हुनुपर्ने उसको छ ।

अहिले सभामुख एमालेकी नन्दा गुरुङ छिन् । मुख्यमन्त्री पद छाडेसँगै माओवादीले सभामुख पद आफूले पाउनुपर्ने कुरा उठाइरहेको हो । एमाले भने पहिला सानो आकारमा भएपनि सरकार गठन गर्ने र त्यसपछि भागबण्डाको विषय टुङ्गोमा पुर्‍याउने पक्षमा छ । जुन कुरा माओवादीलाई चित्त बुझेको छैन ।

माओवादीले सभामुखसहित चार मन्त्रालयको भागबण्डा पहिला प्याकेजमै गरौँ भनेको तर एमालेले नमानेको एक सांसदले रातोपाटीलाई बताए । साथै माओवादीले सरकार संचालनको संयन्त्र बनाउन लिखित सहमति गर्नुपर्ने माग पनि राखेको छ ।

नेताहरूका अनुसार ८ मन्त्रालयमध्ये माओवादीले अर्थ, भौतिक पूर्वाधार, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमध्ये एकमा दाबी गरेको देखिन्छ । मन्त्रालय बाँडफाँटमा समस्या नरहेपनि सभामुखको विषयमा भने निर्णय गर्न सकिने अवस्था नरहेको एमालेका नेताहरू बताउँछन् ।

बिहीबार दिउँसो कँडेल र शर्माबिच प्रदेश सभामा वाट टु वान वार्ता समेत भयो । तर, दुई मुख्य नेताहरूबिच नै सहमति जुटेन । लगत्तै शर्माले आफ्नो संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा राखे । उक्त बैठकले सरकारको विषयमा निर्णय गर्ने अधिकार दल नेतालाई दिने निर्णय सहित टुङ्ग्यायो ।

‘अब सरकारको नेतृत्वकर्ता उहाँहरू (एमाले) हो, माग सम्बोधन गरेर अगाडि बढ्ने दायित्व पनि एमालेका मित्रहरुको हो,’ माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले रातोपाटीसँग भने, ‘उहाँहरूले कञ्जुस्याईँ गरेपछि कसरी हुन्छ ? मुख्यमन्त्री नियुक्त गरौँ त्यसपछि देखिजाएगा भन्ने सोच उहाँहरूमा देखियो ।’ भागबण्डाको विषयमा विश्वास गर्ने आधारबिना नै एमालेले अगाडि बढ्न खोजेको उनको भनाइ छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले सरकार र प्रदेशसभाको विषय फरक भएको बताए । ‘सरकार छुट्टै हो, प्रदेश सभा छुट्टै हो, प्रदेश सभा व्यवस्थापिका हो त्यसलाई चलाउँदा राम्रो हुँदैन होला कि भन्ने हो’, उनको भनाइ छ ।

उठेका सबै विषयमा मुख्यमन्त्रीको दाबी पेस र विश्वासको मत लिइसकेपिछ फाइनाउट गर्ने एमालेको धारणा रहेको उनको भनाइ छ । तर, माओवादीले मुख्यमन्त्री नियुक्त भन्दा पहिला प्याकेजमै सबै विषय टुंग्याउन भनेको उनले स्वीकारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप