मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : पहिला माओवादीका मन्त्रीको राजीनामा आओस् !

सोमबार, २६ चैत २०८०, १५ : १४
सोमबार, २६ चैत २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै अफ्ठ्यारोमा परेका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएसँगै उनी अल्पमतमा परेकाले अफ्ठ्यारोमा परेका हुन् । 

यस्तो अवस्थामा उनले अब विश्वासको मत नलिएरै अघि बढ्छन् या प्रदेशसभा विघटन गर्छन् भन्नेबारे चासो छ । यसैबिच कार्कीले आफू अहिले ठोस प्रतिक्रिया दिन सक्ने अवस्थामा नरहेको बताएका छन् । माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि रातोपाटीसँग उनले भने, ‘पहिलो मन्त्रीहरूको राजीनामा आओस् न । अरू बाँकी बोल्ने अवस्थामा म छैन ।’

मुख्यमन्त्री निकटस्थ स्रोतका अनुसार मन्त्रीहरूको राजीनामा आएपछि के गर्ने भन्नेबारे पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिनेछन् । 

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको बताए । 

एमाले पनि आजै सरकारबाट बाहिरिने आङ्बोको भनाइ छ । त्यसअनुसार नयाँ समीकरणमा आबद्ध दलहरुमा सहमति भएपछि पार्टीले प्रदेश सरकारबाट बाहिरिने निर्णय भएको उनले बताए । 

‘एमाले र माओवादीबिचको लगातारको छलफलपछि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले आजै  राजीनामा बुझाएर सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको छ’, माओवादी केन्द्र संसदीय दलका नेता आङ्वोले भने,‘एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार बनाउन आजै प्रदेश प्रमुखलाई जानकारी दिने निर्णय भएको छ ।’ 

त्यस्तै उनले तत्काल प्रदेशसभाको विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन गर्ने निर्णय गरेको जनाए । एकीकृत समाजवादी र जसपा समेतले सरकारलाई दिएको सहमति फिर्ता लिएर समग्र पावरसेयरिङबारे छलफल गर्ने उनले बताए । यससँगै माओवादीका मन्त्रीहरू राजीनामा बुझाउन जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप