बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै श्रीमतीको हत्या गरेर फरार पुरुष १७ वर्षपछि पक्राउ

६६ वर्षको उमेरमा अर्को बिहे गरेर बसेका थिए
सोमबार, २६ चैत २०८०, २० : ३८
सोमबार, २६ चैत २०८०

सुर्खेत । आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक जना पुरुष १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेत (साविक लाटीकोइली गाविस–५) का रामबहादुर रावत छन् ।

प्रहरीका अनुसार रावतले ०६३ साल असार ९ गते घरमा आफ्नै श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि उनी भागेका थिए ।

१७ वर्षपछि उनलाई जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । उनका अनुसार रामबहादुर जुनीचाँदे गाउँपालिका–१, काप्रा भन्ने ठाउँमा घर बनाइ बसेका थिए ।

घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेका थिए । प्रहरीका अनुसार रामबहादुरले ६६ वर्षको उमेरमा २८ वर्षीय महिलासँग विवाह गरेका थिए । 

जुनीचाँदे रामबहादुरको पुर्ख्यौली थलो हो । गौरीको हत्या गर्दा रामबहादुर ५६ वर्षका थिए । प्रहरी निरीक्षक खड्काका अनुसार रामबहादुरले गौरीको हत्या गरी गोठमा शव फालेर भागेका थिए ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप