मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली हाफ म्याराथन वैशाख २९ गते

मङ्गलबार, २७ चैत २०८०, १५ : ५८
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । रेस नेपालको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन आयोजना हुने भएको छ । हाफ म्याराथन कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने जानकारी रेस नेपालका अध्यक्ष टीएस ठकुरीले दिए ।

कर्णाली हाफ म्याराथन आगामी वैशाख २९ गते हुनेछ । कर्णालीमा प्रदेशमा २०८१ साल मंसिरमा हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रवर्द्धन गर्ने उद्देश्यले हाफ म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यो हाफ म्याराथनलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताइएको छ । कर्णाली हाफ म्याराथनमा २१.०९७५ किलोमिटर पुरुष तथा महिला, पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौड, पाँच किलोमिटर ह्वीलचियर दौड, पाँच किलोमिटर कर्पोरेट रन र ४२१.९५ मिटर किड्स रन समावेश गरिएको छ ।

विगत नौ वर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवर्द्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियानअन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागिएको जानकारी दियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग तथा अन्य स्थानीय पालिका एवं निजी क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन सञ्चालन हुन लागेको हो । यसको रुट तथा नगद पुरस्कारका सम्बन्धमा छिट्टै जानकारी गराइने पनि आयोजकले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप