बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सिँचाइ सुविधाले हराभरा बन्दै गेखुङ फाँटका खेत

बुधबार, २८ चैत २०८०, २० : १७
बुधबार, २८ चैत २०८०

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका-८ तुराङस्थित गेखुङ् फाँटको खेतमा सिँचाइ सुविधा पुगेपछि यतिबेला हराभरा भएको छ । सिँचाइ अभावले हिउँदमा उजाड बन्ने खेतका फाँटमा यसवर्ष चैत महिनामा पनि मकैको बिरुवा उम्रिएका छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा हुग्दीखोला‐तुराङ सिँचाइ योजनाअन्तर्गत पक्की नहर निर्माण भएपछि वर्षौदेखि बाझिएका खेत सिंचित भएका हुन । बाबुल पन्थ जेभी कम्पनीले रु एक करोड ९० लाखको ठेक्का मार्फत उक्त सिँचाइ योजना सम्पन्न गरेको हो । 

सिँचाइ अभावमा अलपत्र उत्पादनशील गेखुङ र तुराङफाँटमा सिँचाइ सुविधा पुगेपछि ठूलो राहत मिलेको स्थानीय उपभोक्ता भुवन बस्नेतले बताए । सिँचाइ योजनाको काम सम्पन्न गर्ने म्यादभन्दा एक महिना अगावै निर्माण व्यवसायीले सम्पन्न गरेका थिए । बाझिएका खेतमा नहरको पानी पुगेपछि किसान निकै खुसी र उत्साहित बनेको हुग्दीखोला‐तुराङ सिँचाइ योजना उपभोक्ता समिति अध्यक्ष लोकनाथ पोख्रेलले बताए । 

सिँचाइ योजनाअन्तर्गत मूल नहरको लम्बाइ चार हजार छ सय मिटर छ । नहरबाट ८५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुगेको छ । सिँचाइले त्यस क्षेत्रका एक सय ४४ घरधुरीका एक हजार एक सय ७९ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित बनेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख भरतप्रसाद सापकोटाले बताए ।   

निर्माण व्यवसायी गगन केसीले सम्झौता समय अगावै योजना सम्पन्न गरेपनि भुक्तानी पाउन नसकेको बताए । आवश्यकताभन्दा न्यून बजेट प्राप्त भएको र थप बजेट निकासा हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख सापकोटाले बताए । उनले थप बजेटका लागि मन्त्रालयमा पहल गरिएको जानकारी दिए । 

पहाडी जिल्ला भएपनि गुल्मीका हजारौँ हेक्टर उत्पादनशील फाँटमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप