सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नाउपामा रेशम–रञ्जिता विवाद : सद्भावना पार्टी पृष्ठभूमि भएका नेताहरू अलमलमा

बिहीबार, २९ चैत २०८०, २२ : ५५
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । गत साउनमा पार्टी एकीकरण गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा आएका नेपाल सद्भावना पार्टी पृष्ठभूमिका नेताहरू यतिबेला अलमलमा परेका छन् । नाउपाभित्र संरक्षक रेशम चौधरी र संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबिचको विवादका कारण उनीहरू अलमलमा परेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबिच गत साउन १४ गते एकीकरण भएको थियो । नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष एवं नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष रामकुमार महतोले पार्टीको विवाद रेशम चौधरी र रञ्जिता श्रेष्ठले चाँडै नमिलाए यो एकता भङ्ग हुने चेतावनी दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न भएको विवाद २०८० मै समाधान गर्न आग्रह गर्दै उनले २०८० मा विवाद समाधान भएन भने नयाँ वर्षमा दुई पार्टीबिच भएको एकता भङ्ग हुने उनको चेतावनी छ ।

नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्दा नेपाल सद्भावना पार्टीबाट केन्द्रीय समितिका ५१ जना र १२ वटा जिल्ला अध्यक्ष सो पार्टीमा समावेश भएका थिए ।

त्यसमध्ये हालसम्म पार्टीको महाधिवेशनबाट ३–४ जनालाई मात्र व्यवस्थापन गरिएको छ । महाधिवेशनपछि अरु बाँकीलाई व्यवस्थापन गर्ने भनिएको थियो । नेपाल सद्भावना पार्टीबाट नागरिक उन्मुक्ति पार्टीमा गएका राजेश चौधरीले महाधिवेशनपछि नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्ने भनिए पनि पार्टीमा विवाद भएका कारण कुनै काम अगाडि नबढेको बताए ।

आफूहरूले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरे पनि अहिलेको विवादमा तटस्थ बसेको चौधरीले बताए । पार्टीको विवादभन्दा पनि श्रीमान्–श्रीमतीको झगडा जस्तो देखिएको भन्दै उनले त्यही भएर आफूहरू कसैको पक्षमा नलागेको प्रस्ट पारे ।

नेपाल सद्भावना पार्टीबाट गएका सबै नेता तथा कार्यकर्ता अहिले सो पार्टीमा तटस्थ बसेका छन् । उनीहरूले चाँडै विवाद समाधान गर्न दबाब दिइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको विवादलाई केही दिन हेर्छौं, समाधान भएन भने कुनै विकल्पमा जान्छौँ,’ चौधरीले भने, ‘उहाँहरूको झगडामा हामी आफ्नो राजनीतिक करिअर दाउमा राख्दैनौँ, कुनै न कुनै बाटो लिन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप