बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछानेविरुद्ध कांग्रेसले उठाएका प्रश्नको प्रतिवादमा रास्वपाका पूर्वकांग्रेसी

शुक्रबार, ३० चैत २०८०, १६ : १५
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध उठाएका प्रश्नको प्रतिवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रका पूर्वकांग्रेसी नेताहरु सक्रियतापूर्वक लागिपरेका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । 

कांग्रेसले फागुन २४ यता सहकारी ठगीमा लामिछानेमाथि संसद्मा निरन्तर प्रश्न उठाउँदै अवरोध समेत गर्दै आएको हो ।  सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफबाट चित्त नबुझाएको कांग्रेसले गृहमन्त्री लामिछानेको कुरा सुन्न चाहेको छैन । 

यहीबिचमा कांग्रेसले लामिछानेमाथि गरेको प्रहारको संसदमा रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनीष झाले प्रतिरक्षा गरिरहेका हुन् । उनीहरु दुवै कांग्रेस पृष्ठभूमिका हुन् । वाग्ले गत वैशाख १० मा भएको उपनिर्वाचनमा कांग्रेस छाडेर रास्वपाबाट तनहुँ–१ मा उम्मेदवार बनेका थिए ।

कांग्रेसमा पाँच दशक लामो पारिवारिक विरासत गाँसिएको बताउने वाग्ले कांग्रेसकै गढ मानिएको तनहुँ–१ बाट निर्वाचित भएका थिए । २०७४ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा वाग्ले कांग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटको सदस्य मध्य एक थिए ।

देउवाले वाग्लेलाई २०७५ मा महाधिवेशन तथा महासमिति सदस्य मनोनीत गरेर कांग्रेसको राजनीतिमा ल्याए । यसपछि उनी लगातार कांग्रेसमा सक्रिय भए । २०७९ र २०७४ को आम निर्वाचनका लागि वाग्लेले कांग्रेसको घोषणापत्र मस्यौदा गर्दा नेतृत्वदायी भूमिका निभाएका थिए।

उनले गत आम निर्वाचनमा चितवन, गोरखा, काठमाडौँ तीन ठाउँमध्ये एक ठाउँमा कांग्रेसबाट टिकटको अपेक्षा राखेका थिए । तर, वाग्लेले कतैबाट टिकट नपाएपछि २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपा प्रवेश छिरेका थिए । 

कांग्रेसविरुद्ध आक्रामक सुनिने रास्वपा सहप्रवक्ता झा पनि आफूलाई विगतमा तीन पुस्ते कांग्रेस भन्न रुचाउँथे ।

तीन पुस्ताको राजनीति छोडेर उनै झा २०७९ को आम निर्वाचनका बेला रास्वपा छिरेका थिए । कांग्रेसका लागि आफ्नो हजुरबुबाले खेत बेचेको र बुबाले जागिर धरापमा पारेको झाको दाबी थियो । झा नेपाल विद्यार्थी संघमा आबद्ध भएर लामो समय क्रियाशील पनि थिए ।

आम निर्वाचनअघि झाले २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा मत माग्दै प्रचार गरेका थिए । महामन्त्री गगन थापा संयोजक रहेको स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समितिमा उनी सदस्य थिए । तर एकाएक उनी २०७९ को आम चुनावबाट रास्वपाको समानुपातिक सांसद बने । कांग्रेसमा सक्रिय राजनीति गरेर रास्वपा पुगेका वाग्ले र झा रास्वपाका २१ सांसद मध्ये कांग्रेसविरुद्ध सबैभन्दा चर्को सुनिन्छन् ।

कांग्रेसमा हुँदा आलोचनात्मक चेत राख्ने वाग्ले र झा रास्वपामा पुग्दा नेतृत्वमाथि उठेको सहकारी ठगी प्रकरणको प्रतिरक्षमा उभिनुलाई कतिपयले अनौठो मानेका छन् ।

गृहमन्त्री लामिछानेमाथि कांग्रेस नेताहरूले दिएका अभिव्यक्तिको रास्वपा उपसभापति स्वर्णिम वाग्ले कडा प्रतिवाद गरिरहेका छन् । लामिछानेलाई ‘प्रधानमन्त्रीको प्रस्ताव’ गर्ने कांग्रेसले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनुको तुक नरहेको सम्मको तर्क वाग्लेको हुने गरेको छ ।

यही चैत २१ मा वाग्लेले गृहमन्त्रीलाई जवाफ दिन अवरोध गरेर कांग्रेसले निषेधको राजनीति गरेको टिप्पणी गरे । ‘गृहमन्त्रीले तपाईंहरूले (कांग्रेस) यति धेरै आक्षेप लगाउनुभएको छ यहीँ हलभित्र । म रोस्टममा उभिएर जवाफ दिन चाहन्छु भन्दाखेरि उहाँलाई निषेध गरिएको छ, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ?,’ उनको प्रश्न थियो ,‘ यो कस्तो संस्कृति हामी बसाउन खोज्दै छौँ यो असाध्यै चिन्ताजनक छ।’

साथै उनले आरोप लाग्नासाथ मन्त्री मात्रै नभएर सांसदले पनि राजीनामा दिने गरी सर्वदलीय सहमतिमा जाने काउन्टर प्रस्ताव अगाडि सारेका थिए । ‘संसदीय छानबिन समिति बनाउन आपत्ति होइन । कस्तो नजिर स्थापित गर्न गइरहेका छौँ भन्नेबारे विचार गर्नुपर्ने हुन्छ । सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ । मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौँ,’ वाग्लेको प्रस्ताव थियो ।

रास्वपाको उदय भएको १ वर्षमै सबै बेथिति देखा परेकोजस्तो भाष्य कांग्रेसले बनाउन खोजेको वाग्लेको भनाइ छ । ‘विगत ३४ वर्षमा भएका काण्डै काण्डका भकारीलाई एकातिर राखौँ, भर्खर १ वर्षअघि उदाएको रास्वपाकै कारणले मुलुक बेथितितर्फ गएको हो भन्ने भाष्य बनाउन खोजियो,’ उनले भने ।

सहकारी पीडितका समस्यासँग कुनै सरोकार नगरी एक जना व्यक्ति (रवि लामिछाने)विरुद्ध उभिएको उनले बताए । ‘व्यक्ति खुइल्याउने, प्रतिशोध साध्ने विधि र औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नु हुँदैन,’ उनले भने, ‘सहकारी ठगी भन्दा भन्दा मान्छेले पत्याउँछन् भन्ने छ कांग्रेसलाई। सबै काण्डमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति हाम्रो माग हो ।’

मनिष झाले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नप्रति आपत्ति जनाएका थिए । लामिछाने जोडिएको सहकारी ठगीको विषय केही पत्रकारहरूलाई  प्रायोजित रूपमा लेख्न लगाइएको सूचना  भएको उनले बुधबारको संसद बैठकमा दाबी नै गरेका थिए । ‘त्यसमा प्रश्न छ। निष्कर्ष छैन। त्यसको आधारमा पटक पटक गरिएको प्रहारमाथि हाम्रो आपत्ति छ,’ झाले भने ।

प्रतिनिधि सभा नियमावलीको पृष्ठ ११ र १२ मा सदनमा बोल्न पाउनुपर्छ भनेर खुलस्त रूपमा लेखेको भन्दै उनले गृहमन्त्री लामिछानेको बोल्न पाउने अधिकार कुण्ठित भएको बताए ।

उनले भने, ‘यो सदनमा अर्को व्यक्तिप्रति पटक पटक निराधार लाञ्छना लगाउन पाइँदैन भनेको छ । कानुनले कुनै निर्णय दिइसकेको छैन, सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिइसक्नुभयो । कांग्रेसले बोल्ने अधिकार कण्ठित गरिरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप