आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खेल सङ्घलाई राखेपको ११ बुँदे निर्देशन

शनिबार, ०१ वैशाख २०८१, १६ : ०३
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल सङ्घले आ–आफ्नो खेल संरचना अनुरूप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यान्वयन सम्बन्धी खाका राखेप समक्ष पेस गर्न शुक्रबारको सदस्य–सचिवस्तरीय निर्णयअनुसार राखेपले राष्ट्रिय खेल सङ्घलाई ११ बुँदे निर्देशन दिएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ ।

राखेपको ११ बुँदे निर्देशन 

१. राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा १(ग) बमोजिम आवधिक निर्वाचन नभएका राष्ट्रिय खेल सङ्घ/महासङ्घहरूलाई निर्वाचन कार्यान्वयनको खाका र समयतालिका पेस गर्नु पर्ने ।  

२. प्रचलित कानुन बमोजिम सङ्घ/महासङ्घ नवीकरण हुन आउँदा चालु आ.ब.को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन २र२ प्रति, आगामी वर्षको कार्ययोजना सहित प्रचलित कानुनी भएका व्यवस्था अनुरूप अनिवार्य रूपमा समावेश भई आउनु पर्ने ।

३. राष्ट्रिय खेल सङ्घले पेस गर्ने खेलकुद सम्बन्धी नीति, कार्ययोजना तथा वार्षिक खेलकुद कार्यक्रम तयार गर्दा फरक क्षमता भएका खेलाडीहरूले खेल्ने पारा खेलकुद सम्बन्धी योजना तथा खेलकुद कार्यक्रम समावेश गर्नुका साथै सङ्घको विधान तथा उद्देश्यमा पारा खेलकुद सम्बन्धी व्यवस्था अनिवार्य रूपमा समावेश गरी सो को जानकारी परिषद्लाई गराउनु पर्ने  ।

४. आर्थिक कारोबार गर्दा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६” बमोजिम गर्न/गराउन लगाउने र सामाग्री तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४” बमोजिम गर्न/गराउनु पर्ने ।

५. राष्ट्रिय खेल सङ्घ/ महासङ्घको विषयमा परेका निवेदन/उजुरीहरूको सम्बन्धमा परिषद्बाट माग गरिएको राय/ प्रतिक्रिया एवं आवश्यक कागजातहरू तोकिएको समय भित्र अनिवार्य रूपमा बुझाउनु पर्ने ।

६. अन्तर्राष्ट्रिय सङ्घ/महासङ्घ तथा अन्तर्राष्ट्रिय संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ज) बमोजिम परिषद्को सिफारिसमा मन्त्रालय मार्फत नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने साथै, अन्तर्राष्ट्रिय सङ्घ/महासङ्घ, अन्तर्राष्ट्रिय संस्था तथा परिषद्बाट प्राप्त अनुदान वा अनुदान बाहेक सङ्घ तथा महासङ्घहरूको अन्य श्रोतबाट सञ्चालन भएका खेलकुद सम्बन्धी कार्यक्रमहरू सम्पन्न भए पश्चात् सो को प्रतिवेदन १५(पन्ध्र) दिन भित्र परिषद्मा अनिवार्य रूपमा बुझाउनु पर्ने ।

७. सङ्घ/महासङ्घले परिषद् समक्ष आर्थिक सहयोग एवं अनुदान माग गरि पठाउँदा वा सिफारिस गरि पठाउँदा परिषद् द्वारा स्वीकृत प्रतियोगिता र कार्यक्रमहरूको लागि मात्र माग गरि वा सिफारिस गरी पठाउन पर्ने । राष्ट्रिय खेल सङ्घ/महासङ्घको आयोजना एवं सहभागितामा हुने उपरोक्त खेलकुद गतिविधिहरूको लागि अन्तर्राष्ट्रिय सङ्घ/महासङ्घ एवं परिषद्बाट प्राप्त आर्थिक सहयोगको विवरण सङ्घ/महासङ्घको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख भई परिषद् समक्ष पेस गर्नु पर्ने । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दा तथा सहभागिता जनाउँदा सहभागी खेलाडी, प्रशिक्षक एवं व्यवस्थापकहरूको  खेलकुद बीमालेख अनिवार्य रूपमा भएको हुनु पर्ने । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा खेलाडीसँग आवश्यक प्रशिक्षक तथा अफिसियलको सङ्ख्या पेस गर्नु पर्ने ।

८. महासङ्घ तथा सङ्घहरूले आर्थिक कारोबारको सहजताको लागि आर्थिक विनियमहरू तर्जुमा गर्दा परिषद्को स्वीकृतिमा नेपाल सरकारको आर्थिक कार्यविधि सँग नबाझिने गरी तयार गर्नुपर्ने ।

९. मार्सल आर्ट सम्बन्धी खेलसङ्घहरुबाट डान/डिग्रीको सर्टिफिकेट उपलब्ध गराउँदाको शुल्क तथा आबद्ध डोजो/डोजाङ्ग, क्लब लगायतका खेलकुद गतिविधिहरू सञ्चालन गर्ने संस्थाहरूको दर्ता र आवद्धब शुल्क/नवीकरण शुल्क/खेलाडी परिचय–पत्र शुल्क सम्बन्धी व्यवस्था सङ्घ/महासङ्घको विधान/नियम/कार्यविधिमा स्पष्ट व्यवस्था हुनु पर्ने र प्राप्त सम्पूर्ण शुल्कहरूको विवरण पारदर्शी र स्पष्ट हुनुका साथै उपयोग र खर्च सम्बन्धी व्यवस्था सङ्घ/महासङ्घको कार्यविधिमा उल्लेख हुनु पर्ने । साथै राष्ट्रिय खेल सङ्घ/महासङ्घको आम्दानी तथा खर्च सम्बन्धी सम्पूर्ण विवरणहरू प्रत्येक वर्षको असोज मसान्त भित्र परिषद् समक्ष अनिवार्य रूपमा बुझाउनु पर्ने ।

१०. परिषद् समक्ष विभिन्न खेलकुद सम्बन्धी कार्यक्रम तथा प्रतियोगिताहरू सँग सम्बन्धित  भुक्तानीको लागि अनुरोध गर्दा भुक्तानीको विषयसँग सम्बन्धित कार्यक्रम सम्पन्न र प्रगतिको विस्तृत प्रतिवेदन २ प्रति, त्यसको डिजिटल कपी र सक्कल बिल भर्पाई र अन्य आवश्यक सम्पूर्ण कागजातहरू समावेश गरी पठाउनु पर्ने  ।

११. राष्ट्रिय खेल सङ्घ/महासङ्घले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ लाई पूर्ण रूपमा पालना गरी आ–आफ्नो खेलकुद गतिविधि एवं क्रियाकलापहरू सञ्चालन गर्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप