बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा गोल्डकप : उपाधिका लागि मच्छिन्द्र र पुलिस भिड्दै

आइतबार, ०२ वैशाख २०८१, २१ : २०
आइतबार, ०२ वैशाख २०८१

सिमरा। १४ औँ जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमबार ए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रङ्गशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टिम उपाधि जित्दै वर्ष ०८१ को सुखद सुरुवात गर्न चाहन्छन् । 

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैटौँ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो ।  

यता मच्छिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो । 

अघिल्लो साता विराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उपाधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रँदै छ । ०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरि चर्चित खेलाडीहरूलाई टिममा अनुबन्धन गरेको मच्छिन्द्रले विराट सहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौँमा भएको केपी ओली कपको उपाधि जितेको थियो । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरू उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौँ, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ,’ न्यौपानेले भने । 

वर्ष ०८० को सुरुवातमा वीरगन्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको      थियो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले वर्ष ०८० मा पुलिसका युवा खेलाडी सम्मिलित टोलीले मोफसलका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जीतपुरसिमरा गोल्डकपको उपाधि सहित वर्ष ०८१ को सुरुवातका लागि आफूहरू उत्साहित रहेको बताए । ‘हाम्रा ऊर्जावान् युवाशक्तिले यस वर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेमा विश्वस्त छु’ प्रशिक्षक घिमिरेले भने ।

पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेँलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन् । शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टिमलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यता स्टार खेलाडी विमल घर्तिमगर, मनिष डांगी सम्मिलित मच्छिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टिममा थपिने सम्भावना रहे पनि निश्चित भने नभएको जानकारी दिए ।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टिमलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ । मच्छिन्द्रले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । पुलिसले भने क्वार्टर फाइनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो । 

सिमरा रङ्गशालामा आइतबार बिहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र बाजे दुवैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए । 

सोमबार राती सिमरा रङ्गशालाको फ्लड लाइटमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यमा फाइनल खेल हुने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । तीन वर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिति उत्साहजनक रूपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए ।

  • जीतपुरसिमरा गोल्डकपको हाल सम्मका उपाधि विजेता 
  • २०७९ चर्च ब्वाईज युनाईटेड
  • २०७८ न्युरोड टिम एनआरटी
  • २०७७ सङ्कटा क्लब
  • २०७५ थ्रीस्टार क्लब
  • २०७४ त्रिभुवन आर्मी
  • २०७३ सङ्कटा क्लब
  • २०७२ विजय युथ क्लब हेटौंडा
  • २०७१ त्रिभुवन आर्मी क्लब
  • २०७० नव जनजागृति युवा क्लब सिमरा
  • २०६९ मनाङ मर्स्याङ्दी क्लब
  • २०६८ मनाङ मर्स्याङ्दी क्लब
  • २०६७ हिमालयन शेर्पा क्लब
  • २०६६ मजदुर सहिद स्मृति क्लब

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप