मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

कम्युनिकेसनको आवरणमा सट्टेबाजीको धन्दा

५७ करोड ४१ लाख कारोबार, ७ प्रतिशत कमिसन
सोमबार, ०३ वैशाख २०८१, १६ : ३१
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । सर्लाहीको सदरमुकाम मलंगवास्थित ‘लक्ष्मी कम्युनिकेसन’ को सञ्चालक हुन्, सञ्जयकुमार साह । मलंगवा नगरपालिका वडा नम्बर–९ घर भएका ३१ वर्षीय साह अहिले वान–एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा थुनामा छन् । प्रहरीकाअनुसार उनी रसियन एप वान–एक्स बेटको नेपाली एजेन्ट हुन् ।

साहसहित ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी कम्युनिकेसन स्टाफ १९ वर्षका रामजी शाह र मलंगवा नगरपालिका–१० घर भएका ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार कारोबार गरेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी ‘एसपी’ रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

लक्ष्मी कम्युनिकेसनमा फोटो स्टुडियो र पासपोर्टको फारम पनि भरिन्छ । सञ्जयले त्यहाँ खिचेका फोटाहरू समेत दुरुपयोग गरेर उनले ९८ वटा बैंक खाताहरू खोलेर सट्टेबाजीको धन्दा चलाएका हुन् । ती खाताहरू २१ वटा कनेक्स आईपीएसमा लिंकअप गरेर अनलाइन जुवा खेलाउने गरेको भेटिएको छ ।  

सञ्जयले सट्टेबाजी खेल्नेहरूलाई भुक्तानी दिन र भुक्तानी लिन रामजी र राकेशको खाता नम्बर प्रयोग गरेको अहिलेसम्मको प्रहरीको अनुसन्धान निष्कर्ष छ । वानएक्स बेटमा रकम पठाउन क्रिप्टो करेन्सीका कारोबार गरेको भेटिएको छ । आरोपीहरूले क्रिप्टो सम्बन्धी ‘विनान्स’ र ‘रेडी एप’ प्रयोग गरेको क्रिप्टोको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । सट्टेबाजीमा भारतीय खाताहरू पनि प्रयोग गरेको भेटिएको छ ।

भारतमा जारी आईपीएल क्रिकेट र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सबैभन्दा धेरै सट्टेबाजी हुने गरेको छ । सट्टेबाजी गराएबापत एजेन्टहरूले ७ प्रतिशत कमिसन लिन्छन् ।

विगत दुई वर्षदेखि सट्टेबाजीको धन्दा चलाउँदै आएका उनीहरूलाई प्रहरीले मुलुकी अपराध संहिता– २०७४ को परिच्छेद ५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनीहरू मलंगवामा नै बसेर सो धन्दा चलाउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप