मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरण : जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दर्ता

मंगलबारदेखि  थुनछेक बहस सुरु हुँदै
सोमबार, ०३ वैशाख २०८१, २३ : २१
सोमबार, ०३ वैशाख २०८१

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको मुद्दा आज जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको छ। ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर  सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । 

सो प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भोलिदेखि  थुकछेक  बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अन्तराम मरासिनीले  रातोपाटीलाई बताए । उक्त सहकारी प्रकरणमा  हालसम्म  काठमाडौँ, पोखरा, रुपन्देहीका गरी  ६ जना पक्राउ गरेका छन् । अन्य प्रतिवादीहरूलाई फरार सूचीमा  राख्ने प्रक्रियामा जानेछ । 

प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त मुद्दामा १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको हो । सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने, निता थापामगर  र कुमार रम्तेल पक्राउ परेका छन् । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।

उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सोही आधारमा मुद्दा  दायर  गरिएको हो । उक्त सहकारी प्रकरणमा  गृहमन्त्री रवि लामिछानेले समेत लोन लिएको पाइएको छ ।

ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा दुई पटक गरेर करिब चार करोड रुपैयाँ प्रवाह भएको देखिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा गृहमन्त्रीलाई प्रतिवादी बनाएको छैन ।

ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण बापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिन्छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख  रञ्जितसिंह राठौरले भने सरकारी वकिलले जिल्लामा दर्ता गरेको विषयमा विस्तृत जानकारी आफूलाई थाहा नभएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप