सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग हुन्छ : प्रधानमन्त्री

आइतबार, ०९ वैशाख २०८१, १५ : १२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग हुने बताएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताएका हुन् ।

“यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रुत गतिमा अगाडि बढिरहेका छन् ।” उनले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे ।

यस्तै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताए । उनले सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा जोड दिए । 

“विश्वविद्यालयको प्राज्ञिक स्तर उकास्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एकापसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।” 

विश्वविद्यालयको नेतृत्वले भौतिक एवं शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप