शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन वार्ता

इलाम २ मा एमाले सहज अवस्थामा छ : सांसद महेश बस्नेत

आइतबार, ०९ वैशाख २०८१, १७ : ५०
आइतबार, ०९ वैशाख २०८१

यही वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छ । तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस पटक युवा र राजनीतिकै नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा छ ।

एमाले उपाध्यक्ष दिवङ्गत नेता सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर घरदैलो गरिरहेका बेला एमाले इलामका जिल्ला कमिटी अध्यक्ष एवम् निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतसँग हामीले चुनावी कुराकानी गरेका छौँ :

एमालेबाट नयाँ र युवा उम्मेदवार लिएर तपाईंहरु मतदाताको घरदैलोमा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौँ । मतदाताहरू हाम्रो युवा उम्मेदवार सुहाङ नेम्बाङप्रति उत्साहित हुनुहुन्छ । युवा उम्मेदवारप्रति धेरै आशा र भरोसा गरेको पाएका छौँ । सुहाङप्रति अत्यधिक क्रेज देखिन्छ । 

अहिलेको निर्वाचन विगत भन्दा फरक देखिन्छ । नयाँ वैकल्पिक शक्तिहरू र स्वतन्त्र उम्मेदवारहरू मैदानमा हुनुहुन्छ । कस्तो महसुस भइरहेको छ ?

हामीलाई नयाँ शक्ति वा उम्मेदवाहरुको कुनै किसिमको असहज र चुनौती छैन । हाम्रा सैद्धान्तिक मतदाता सुरक्षित छन् । मतदाता थपिएका छन् र मत बढेको अवस्था छ । प्रतिस्पर्धामा आएका उम्मेदवारहरूका कारण केही मत तलमाथि हुनु स्वाभाविक हो तर हामीलाई केही पनि समस्या छैन ।

इलाम २ मा विगतका निर्वाचनमा सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्थ्यो । अहिले उहाँका पुत्र सुहाङ नेम्बाङ उम्मेदवार हुनुहुन्छ, तपाईंहरुलाई कुनै असहज महसुस भएको छैन ?

पात्रप्रति वा उम्मेदवारप्रति केही विमति होला वा असन्तुष्टि होला तर राजनीति बुझेका मतदाताले आफ्नो सिद्धान्त छाडेका छैनन् । मतदाताले नयाँ नेता खोजेका छन्, युवा नेता खोजेका छन् । एमालेका मतदाता कहिल्यै विचलित हुँदैनन् । यसमा हामी ढुक्क छौँ । 

तर मतदाताहरूमा पुराना दलहरूप्रति आक्रोश बढेको छ, भनिन्छ नि ।

यो बाहिर गरिने हल्ला मात्र हो । पुराना दलहरूप्रति विश्वास टुटेको छैन । एमालेप्रति अगाध विश्वास कायम छ । मैले अघि नै भने पात्रप्रति केही असहमति होला तर राजनीति बुझेका मतदाता पुराना दलहरूप्रति विश्वस्त हुनुहुन्छ । आफ्नो मूलधारलाई मतदाताले छाड्न सक्दैनन् । 

कोशी प्रदेश नामकरण विषयलाई लिएर पहिचानको मुद्दा पेचिलो देखिएको छ । पहिचानवादीका तर्फबाट उम्मेदवार मैदानमा हुनुहुन्छ । यसले एमालेलाई धेरै चुनौती छ भन्नेहरूलाई तपाइँसँग के जवाफ छ ?

पहिचानवादीहरूको हामीलाई कुनै चुनौती छैन । उहाँहरू शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ । पहिले उहाँहरू ढुंगामुडा गर्नुहुन्थ्यो, अवरोध गर्नुहुन्थ्यो, गाडी जलाउनु हुन्थ्यो, अशान्त ढंगले लाग्नु हुन्थ्यो । अहिले शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ । संविधानअन्तर्गत आएर शान्तिपूर्ण प्रतिस्पर्धामा आउनु स्वागतयोग्य छ । उहाँहरू आफ्ना मुद्दाहरू स्थापित गर्न बल गरिरहनुभएको छ । कतिसम्म सफलता प्राप्त गर्नुपर्छ त्यो पछिको कुरा हो । उहाँहरूले केही मत प्राप्त त गर्नुहोला तर निर्णायक बन्न सक्नुहुन्न ।

तर कतिपयले त पहिचानवादीहरूको मुद्दालाई बेवास्ता गरिए जातीय द्वन्द्व निम्तिने आङ्कलन गरिरहेका छन् नि । एमालेले उहाँहरूको मुद्दालाई कसरी हेरेको छ ?

कुनै पनि विचार आयो भन्दैमा त्यसलाई द्वन्द्वसँग तुलना गर्नुहुँदैन । नयाँ विचारहरू आउँदैमा त्यसलाई खराब ठान्नुहुँदैन । उहाँहरू विरोधका नाममा गैरकानुनी गतिविधिमा हुनुहुन्थ्यो अब शान्तिपूर्ण प्रतिस्पर्धामा आउनुभएको छ । यसले सबैलाई फाइदा गर्छ । सबै जाती, वर्ग, समुदाय वा लिङ्गका विषयमा एमाले सधैँ उदार छ । 

एमालेको मुख्य प्रतिस्पर्धीलाई र हालको मतको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

परम्परागत रूपमा भन्नुपर्दा हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । यसपटकको कांग्रेसको मत घटेको छ । हिजो गठबन्धनमा रहँदा राम्रो मत ल्याउनुभयो, अहिले त्यस्तो छैन । विगतको इक्वेसन हेरेर अहिले मूल्याङ्कन गर्न मिल्दैन ।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरूमध्ये माओवादी केन्द्र लगायतका केही दल हामीसँग हुनुहुन्छ । त्यस हिसाबले एमालेलाई सहज भएको छ ।

सत्तामा रहेका अन्य दलहरू आफ्नो अस्तित्वका लागि लडिरहनुभएको छ । त्यसले हामीलाई केही असर गर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा उहाँहरूको अघिल्लो मत १३ सय मात्र हो । यस पटक पनि मैदानमा आउनुभएको छ, त्यो उहाँहरूको स्वतन्त्रता हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप