केन्द्रीय पार्टी कार्यालय निर्माण अभियानमा जुट्न एमालेको आह्वान
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय निर्माण अभियानमा जुट्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गरेको छ । आइतबार गोदावरीको सनराइज हलमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्नका लागि क्युआर कोड सार्वजनिक गर्दै सो प्रस्ताव गरेको हो ।
मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरूबाट नै कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने अभियान सुरु गरिएकाले त्यसमा साथ दिन पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले पार्टीको क्युआर कोडमा तत्काल रकम जम्मा गरी पार्टी कार्यालय भवनको पहिलो दाता बन्न पनि पार्टी पङ्क्तिलाई आग्रह गरे ।
उनले भने, ‘पार्टीको आफ्नै कार्यालय भवन हुन त हाम्रो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनकै योजनाको अङ्ग हो । कहाँ निर्माण गर्ने भन्ने खालको दुबिधाका कारण हामी अगाडि बढ्न सकेका थिएनौँ । अब हामीले त्यसको निष्कर्षमा पुगेका छौँ । यद्यपि केही प्राविधिक काम बाँकी रहेका कारण अहिले हामी त्यो विषयको घोषणा गर्न गइराखेका छैनौँ ।’
नवीकरण र पार्टी सदस्यता बिस्तार गर्दा खेरी प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य रूपमा सङ्कलन गर्ने प्रक्रिया जारी रहेको र त्यो भन्दा बाहेक पार्टी कार्यालय भवन निर्माण गर्नका लागि योगदान गर्न सक्नेहरूबाट पनि सहयोग लिएर आधुनिक र भव्य कार्यालय भवन बनाउने आफूहरूको योजना रहेको महासचिव पोखरेलले बताए ।
उनले भने, ‘मैले चाहिँ सय रुपैयाँ बुझाइसके भनेर त्यो दायित्वबाट पन्छिन मिल्दैन । त्यसमा अधिकतम योगदान गर्न सक्नुपर्दछ । म कमरेडहरूलाई भन्न चाहन्छु–यदि तपाईँहरू कसैले मोबाइल बैङ्किङ प्रयोग गरिराख्नुभएको छ भने आजैका दिन क्युआर कोडलाई स्क्यान गरिकन को पहिलो दाता बन्ने भन्ने प्रक्रियाबाट अधिकतम डोनेट गर्ने प्रक्रियामा सामेल हुनुहुनेछ । र हामी यो अभियानलाई राष्ट्रव्यापी रूपमा गाउँगाउँ, बस्तीबस्तीसम्म लिएर जानेछौँ । यो क्युआर कोड कमरेडहरू सबैले सेभ गर्नुहुनेछ । र, सबै ठाउँमा उपलब्ध गराउनु हुनेछ । त्यसका आधारमा हामी सहयोग सङ्कलन गर्नेछौँ । र त्यो सहयोगको आधारमा पार्टीको आधुनिक र भव्य कार्यालय, समाज रूपान्तरण गर्ने एउटा सक्षम, निर्णायक शक्तिको पार्टी कार्यालय कस्तो हुनुपर्छ भन्ने कुराको आधारमा हामी पार्टी कार्यालय निर्माण गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण