शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

कतारका अमिरको नेपाल भ्रमण : चर्चामा विपिन जोशी

कतारी राजासँग भेट्ने परिवारको इच्छा
सोमबार, १० वैशाख २०८१, १५ : ५८
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी भोलि नेपाल भ्रमणमा आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उनी दुई दिनका लागि नेपाल आउन लागेका हुन् । 

उनको नेपाल भ्रमण तय हुने बित्तिकै सबैभन्दा बढी चर्चा विपिन जोशीको भइरहेको छ । विगत सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको भनिएका विपिनको रिहाइका लागि कतारका राजासँग आग्रह गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेपछि यसबारे चर्चा सुरु भएको हो । 

प्रधानमन्त्री प्रचण्डले कतारका राजा अमिर शेखसँग छलफल गर्ने एजेण्डाको पहिलो नम्बरमा नै विपिनको रिहाइको एजेण्डा रहेको बताए । आइतबार सुदूरपश्चिम प्रदेशमा आयोजित कार्यक्रममा कतारका राजासँग आफूले विपिनको रिहाइका लागि गम्भीर रूपमा कुराकानी गर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले पनि कतारका राजासँग हुने वार्ताको एजेण्डामा सो कुरा समावेश गरिसकेको जानकारी दिएको छ । विपिनका आमाबुवालेसमेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरिसकेका छन् ।

प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले विपिनको रिहाइका लागि कतारका राजासँग कुरा गर्ने विश्वास आफूहरूलाई दिलाएको उनको भनाई छ । 

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतारका राजा अमिर शेखसँग विपिनका बारेमा कुरा गर्ने प्रतिबद्धता उनको परिवारसँग गरेका छन् । कतारका राजा नेपाल आउने भएपछि विपिनका आमाबुवाले राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका थिए । 

भेटेमा आफूहरूले कतारका राजा अमिर शेखसँग विपिन रिहाको कुरा गरिदिन आग्रह गरिएको विपिनका दाजु किशोर जोशीले रातोपाटीलाई जानकारी दिए । प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले विपिनको रिहाइका लागि कतारका राजासँग कुरा गर्ने विश्वास आफूहरूलाई दिलाएको उनको भनाई छ । 

‘आफूले कतारका राजा शेखसँग गम्भीर रूपमा कुरा राख्ने राष्ट्रपतिज्यूले भन्नुभएको छ । हामीलाई आशा छ, उहाँले कुरा गरेपछि कतारका राजा नाइँ भन्नुहुन्न,’ किशोरले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीलाई विश्वास छ, कतार चाह्यो भने विपिन रिहा हुन्छ ।’

नेपालस्थित इजरायली दूतावासले विपिन परिवारलाई राखेर एउटा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि इजरायली राजदूत हनान गोदरले विपिनको रिहाइका लागि आफूहरू गम्भीर रहेको र त्यसका लागि आफ्नो तर्फबाट प्रयास भइरहेको प्रष्ट पारेका थिए । 

हमास र इजरायलबिच अझै युद्ध जारी छ । विपिनका दाजु किशोरले इजरायली राजदूत गोदर यस विषयमा निकै गम्भीर रहेको तर युद्ध अझै चर्किरहेकोले चिन्ता थपेको बताए । 

यसअघि कतारले मध्यस्थता गर्दा इजरायल र हमासबिच युद्धविराम भएको थियो । त्यसक्रममा दुवैतर्फबाट केही व्यक्ति रिहा पनि भएका थिए । फेरि कतारले नै पहल गरेमा मात्र युद्धविराम हुने सम्भावना रहेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । 

  • कतारी राजासँग भेट्ने इच्छा

कतारका राजा अमिर शेखसँग विपिनका परिवारले समेत भेट्ने इच्छा देखाएका छन् । भेटघाटका समय मिलाइ दिनका लागि सो परिवारले प्रधानमन्त्रीको कार्यालयदेखि परराष्ट्र मन्त्रालयसम्म पहल थालेका छन् । 

गत मङ्सिरको पहिलो हप्ता नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँगको भेटघाटमा पनि प्रधानमन्त्री प्रचण्डले विपिन रिहाइको बारेमा चर्चा गरेका थिए । सो भेटघाटमा कतारका विदेश राज्यमन्त्री मुखैरीले सकारात्मक प्रतिक्रिया दिएका थिए । 

दुई दिन अगाडि विपिनका आमाबुवाले परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर कतारका राजासँग भेटघाट गराइदिन आग्रह गरेका थिए । त्यस्तै आग्रह प्रधानमन्त्री प्रचण्डसँग पनि गरेका छन् । तर भेटघाटका लागि कतैबाट सकारात्मक प्रतिक्रिया नपाएको किशोरे बताए । आफूहरू अझै प्रयासमा लागेको बताए । 

नेपालको कतारस्थित दूतावाससँग पनि यो विषयमा कुरा गर्न चाहेको र सम्पर्क सूत्रको खोजीमा रहेको उनको भनाई छ । 

विपिनको रिहाइका लागि यसअघि पनि प्रधानमन्त्री प्रचण्ड, तत्कालीन परराष्ट्र मन्त्री एनपी साउद, वर्तमान परराष्ट्र मन्त्री श्रेष्ठले पटक–पटक प्रयास गरेका थिए । 

गत मङ्सिरको पहिलो हप्ता नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँगको भेटघाटमा पनि प्रधानमन्त्री प्रचण्डले विपिन रिहाइको बारेमा चर्चा गरेका थिए । सो भेटघाटमा कतारका विदेश राज्यमन्त्री मुखैरीले सकारात्मक प्रतिक्रिया दिएका थिए । 

तत्कालीन परराष्ट्रमन्त्री साउद पनि राज्यमन्त्री मुखैरीसँगको भेटघाटमा विपिनको विषयमा उठाएका थिए । 

गत मङ्सिरमा तत्कालीन परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा गएको बेला त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा मुख्यरुपमा विपिन रिहाको विषय नै उठाएका थिए । 

कतारी प्रधानमन्त्री थानीले विपिन रिहाइको विषयलाई लिएर आफूहरू पनि चिन्तित रहेको र त्यसका लागी सकेसम्म पहल गर्ने आश्वासन दिएका थिए । 

त्यसबाहेक उनले नेपालका लागि कतारी राजदूत जदूत युसूफ बिन मोहम्मद अल–हइलसँग पटक–पटक भेटेर रिहाका लागि पहल गर्न आग्रह गरेका थिए । 

पछिल्लो समय उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले पनि नेपालका लागि कतारका राजदूत युसूफसँग भेटेर रिहाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप