शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लोकतन्त्र दिवस

दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई

‘युवाहरू नेपालमा बस्ने अवस्था छैन’
मङ्गलबार, ११ वैशाख २०८१, २१ : ४५
मङ्गलबार, ११ वैशाख २०८१

बुटवल । दोस्रो जनआन्दोलन (२०६२/०६३) मा नवलपरासीका विष्णु प्रसाद पाण्डे सहिद भए । उनका छोरा विजयराज पाण्डे अहिले १७ वर्षका भए । विष्णु सहिद हुँदा उनका छोरा विजयराज गर्भमै थिए ।

बुबालाई देख्न नपाएका विजयराजले यतिबेला भने बुबाको योगदानबारे बुझ्न थालेका छन् । उनलाई गाउँटोलमा ‘सहिदको छोरा’ भनेर चिनिन्छ ।

कक्षा ११ को परीक्षा दिने तयारीमा रहेका विजय ‘सहिदपुत्र’ कहलिन पाएकोमा आफूलाई गर्व लागे पनि पछिल्लो समय मुलुकको अवस्थाप्रति सन्तुष्ट हुन नसकेको बताउँछन् ।

055858440सहिद

लोकतान्त्रिक गणतन्त्रमा कम्तीमा पनि शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत कुरा जनतालाई सहजै उपलब्ध हुनुपर्ने उनको भनाइ छ । मुलुकमा राजनीतिक स्थायित्वसमेत नहुँदा सबै कुरा ओझेलमा पर्न थालेको उनले बताए ।

विजयराजले मुलुकमा विभिन्न नीति छिटोछिटो फेरिने र केही गर्न खोज्नेहरूका लागि वातावरण नभएकाले दैनिक २ हजारभन्दा धेरै युवा विदेश जानुपर्ने अवस्था आएको बताए । देशमा राम्रो काम गर्नेहरूको लागि भविष्य नै नभएको यो अवस्थाले युवाहरू नेपालमा नरहने वातावरण झाङ्गिदै गएको उनको बुझाइ छ ।

यस्तो अवस्था आउनुमा व्यवस्थाको दोष नभएर राज्य सञ्चालनको जिम्मा लिएकाहरूनै मुख्य जिम्मेवार रहेको विजयराज बताउँछन् । सहिद परिवारमध्ये केहीलाई दालभात खान पनि समस्या भएको भन्दै उनले त्यस्ता परिवारलाई राज्य हेर्न नसकेको गुनासो गरे ।

one

सहिद विष्णु पाण्डेका तीन सन्तानमध्ये विजय कान्छो हुन् । विजयका दुई दिदी छन् ।

राज्यले सहिद परिवारलाई निःशुल्क शिक्षा दिने घोषणा गरे पनि पाण्डेका तीन वटा छोराछोरीलाई सुरुमा शिक्षा कार्यालयबाट मासिक २ हजार रुपैयाँ उपलब्ध हुन्थ्यो । तर अहिले त्यो रकम दिन छाडिएको छ ।

सहिदपत्नी भागीरथी पाण्डेले सरकारले घोषणा गरे पनि छोराछोरीका लागि शिक्षा कार्यालयले मासिक दिने दुई हजार रुपैयाँ दिन छाडेको रातोपाटीलाई बताइन् ।

उनले भनिन्, ‘तीनवटा छोराछोरीलाई मैले खेत बेचेर पढाउनु परेको छ तर भाषणमा सहिद परिवारका सन्तानलाई निःशुल्क शिक्षाको कुरा गरिन्छ ।’

विष्णु कसरी सहिद भएका थिए ?

two

नवलपरासीको सदरमुकाम परासी बजारमा २०६२ चैत ३० गते विशाल विरोध प्रदर्शन थियो । विरोध प्रदर्शनमा सधैँजसो विष्णु जाने गर्दथे । उनी पेसाले स्वास्थ्यकर्मी भएकाले आन्दोलनका घाइतेको उद्धार गरेर उपचार गर्ने गर्दथे ।

त्यस दिन सुरक्षाकर्मी र आन्दोलनकारीबिच भिडन्त भयो । आधा दर्जन आन्दोलनकारी घाइते भए । सधैँ झैँ ती घाइतेलाई उद्धार गर्न जाँदा प्रहरीले चलाएको गोली विष्णुलाई लाग्यो । पेट र कन्चटमा तीन वटा गोली लागेर सहादत प्राप्त गरेका उनलाई सरकारले सहिद घोषणा गरेको हो ।

अहिले नवलपरासीमा सहिद विष्णु स्मृति प्रतिष्ठान गठन गरेर सहिदको नाममा केही काम भएको छ । उक्त समितिले सुनवल नगरपालिका– ५, वनकटीमा १५ बिघा क्षेत्रफलमा सहिद पार्क निर्माणको काम गरिरहेको सहिदपत्नी भागीरथी पाण्डेले रातोपाटीलाई बताइन् ।

सरकारबाट एक करोडभन्दा धेरै बजेट खर्च भए पनि पछिल्लो समय निर्माणको कामलाई अगाडि बढाउन बजेट अभाव भएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप