आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आगोले जलेर एकको मृत्यु, विभिन्न स्थानमा लाखौँको क्षति

आइतबार, १६ वैशाख २०८१, १३ : १२
आइतबार, १६ वैशाख २०८१

धादिङ । धादिङमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-३ चौफाँट बस्ने ६७ वर्षीय हरी बहादुर तामाङको आगोले जलेर शनिबार दिउँसो मृत्यु भएको हो । 

आफ्नै बारीमा पात पतिङ्गर जलाउने क्रममा निजको शरीरमा आगो सल्किएर उनको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । 

यता विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीमा लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

  • रूपन्देही, सैनामैना नगरपालिका-९ भरैया टोल बस्ने बोदिलाल गैरेको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • पाल्पा, रिप्दिकोट गाउँपालिका-३ रिपडाँडा, देवीडाँडा, चकल्दीस्थित जंगलमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-५ मरेङडाँडा बस्ने मिन प्रसाद पाठकको गोठ, सोही गाउँपालिका-३ बस्ने प्रकाश भण्डारीको गोठ र पदम भण्डारीको गोठ समेत जलेर तीनै जनाको गरी करिब ९ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चाल्नेस्थित राष्ट्रिय वन धाम कपासेमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने गणेश सिजापतीको घर र तुल बहादुर सिजापतीको गोठमा समेत आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सुनसरी, हरिनगर गाउँपालिका-२ बस्ने मुसहरी मियाको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित ४ वटा घर र २ वटा गोठ जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • दार्चुला, शैल्यशिखर नगरपालिका-९ स्थित ठुलसैनी जंगलमा शनिबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नरेश दमाईको ३ वटा घरमा आगलागी हुँदा ३ वटै घर जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • दाङ, बंगलाचुली गाउँपालिका-८ डाँगीबारीस्थित दैले ढुंङ्गा सामुदायिक वनमा शनिबार साँझ लागेको आगो फैलिएर सोही ठाउँस्थित ३ वटा घर पूर्णरूपमा जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले माथिल्लो गाउँ बस्ने ७० वर्षीय माहिला श्रेष्ठको घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप