मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ताइवानसँग जारी विवादबिच चीनद्वारा उन्नत विमान वाहक पोतको परीक्षण सुरु

बुधबार, १९ वैशाख २०८१, १२ : ०५
बुधबार, १९ वैशाख २०८१

बेइजिङ । चीनले आफ्नो सबैभन्दा उन्नत र तेस्रो विमानवाहक पोत फुजियानको समुद्री परीक्षण सुरु गरेको छ । फुजियान चिनियाँ सेनामा समावेश भएपछि चीनको शक्ति उल्लेखनीय रूपमा बढ्नेछ । ताइवान र दक्षिण चीन सागरमा जारी विवादका बिच चीनले यो परीक्षण सुरु गरेको हो । बुधवारबाट सुरु भएको परीक्षणले मुख्यतया जहाजको स्थिरता र विद्युतीय प्रणालीको परीक्षण गर्नेछ । चीनले सन् २०२२ मा फुजियान विमानवाहक पोतको प्राथमिक परीक्षण गरेको थियो ।

यो परीक्षणका कारण चीनले याङ्जी नदीमा यातायात आवागमन रोक्का गरिएको छ । याङ्जी नदीमा यो प्रतिबन्ध मे ९ गतेसम्म जारी रहने बताइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले सन् २०३५ सम्ममा दक्षिण चीन सागरमा पाँच/छवटा विमानवाहक पोत तैनाथ गर्ने लक्ष्य राखेको छ । दक्षिण चीन सागरको अधिकांश हिस्सामा चीनले आफ्नो दाबी गरिरहेको छ । यसकारण फिलिपिन्स, मलेसिया, ब्रुनई र ताइवानसँग सीमा विवाद चलिरहेको छ । दक्षिण चीन सागरमा चिनियाँ नौसेनाले फिलिपिन्सको नौ सैनिक जहाजलाई पटक पटक रोकेको थियो ।

फुजियान चीनको सबैभन्दा उन्नत विमान वाहक पोत

चीनले विमान वाहक पोतहरूको नाम आफ्ना प्रान्तहरूको नामबाट राख्ने गरेको छ । फुजियान ताइवान स्ट्रेटको सिमानामा अवस्थित चिनियाँ प्रान्त हो । फुजियानको कुल वजन ८० हजार टन छ । यस अघिका विमानबाहक पोत लियोनिङ्ग र शानतोङ भन्दा यसको तौल २० हजार टन बढी छ । चीनले पछिल्लो समय आफ्नो नौसेनाको ताकत लगातार बढाइरहेको छ । यस क्रममा पनडुब्बी, युद्ध विमानको सङ्ख्या पनि बढाइरहेको छ । चीनले हरेक महिना एउटा नौ सैनिक जहाज बनाइरहेको खबर पनि आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप