बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ : महासचिव गुरुङ

बुधबार, १९ वैशाख २०८१, १४ : ४६
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धि र राजनीतिक स्थायित्वको लागि सधैँ तत्पर रहेको आफूले पाएको बताए ।

गुरुङले भने, ‘चीन सधैँ नेपालको समृद्धि,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।’ गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । उनले भने, ‘उहाँहरूले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरूबिच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।’ 

भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबिचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले व्यक्त गरे । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कुल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए ।

एक अर्को प्रसङ्गमा गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै जाने बताए । उनले भने, ‘संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।’   नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका कारण समीकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप