आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
रङ्गशालाबारे प्रश्न

दशरथ रङ्गशालाको विषयमा छलफल गर्न खेलकुदमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन

मङ्गलबार, २५ वैशाख २०८१, १४ : २८
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको पहलमा मङ्गलवार सम्बद्ध निकायहरूबिच भएको छलफल निष्कर्षविहीन बनेको छ ।

मन्त्री श्रेष्ठले छलफलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई छलफलका लागि मन्त्रालय बोलाएका थिए ।

बैठकमा एन्फाबाट अध्यक्ष पङ्कजविक्रम नेम्वाङ उपस्थित थिए । तर राखेपले भने छलफलमा आफ्नो प्रतिनिधि पठाएको थियो । बैठकमा प्रतिनिधि पठाएर   सदस्यसचिव घिसिङ पोखरातिर हान्निएको बताइएको छ ।

दशरथ रङ्गशालाको रेखदेख हाल राखेपले आफ्नै अधीनमा लिएको छ । फिफा र एएफसीले दशरथ रङ्गशालाको स्तर सुधार गर्न एन्फासँग पत्राचार गरेको थियो । 

दशरथ रङ्गशालामा दर्शक र खेलाडीको सुरक्षा, फ्लड लाइटजस्ता विषयमा प्रश्न उठाएपछि यस विषयमा एन्फाले राखेप र युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको थियो । त्यसपछि मन्त्री श्रेष्ठले सम्बद्ध निकायका पदाधिकारीलाई छलफलका लागि मन्त्रालय बोलाएको थियो ।

‘छलफलका क्रममा प्राविधिक विषयहरू आएकाले कुनै ठोस निष्कर्ष निस्कन सकेन । मङ्गलवार अहरान्ह ४ः३० बजे दशरथ रङ्गशालामा पुनः छलफल गरिने छ । सम्भवतः दोस्रो छलफलमा राखेपका सदस्यसचिव पनि उपस्थित हुनु हुनेछ,’ मन्त्रालय स्रोतले रातोपाटीसँग भन्यो ।   

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो । फुटबलका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यही रङ्गशालामा आयोजना हुँदै आएका छन् । पछिल्लो समय फिफा र एएफसीले दशरथ रङ्गशालाको विभिन्न पक्षमा प्रश्न उठाउँदै एन्फालाई स्तर सुधार गर्न सुझाव दिँदै आएको छ । 

‘यो नयाँ विषय होइन । निकै अघिदेखि फिफा र एएफसीले पटक–पटक दशरथ रङ्गशालाको विषयमा प्रश्न उठाउँदै आएको छ । सोही विषयमा अहिले फेरि पत्राचार गरेको हो । खासगरी उनीहरूले सुरक्षा र फ्लड लाइटको विषयमा बढी चासो देखाएका छन्,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने । 

फिफा र एएफसीले दशरथ रङ्गशाला निकै पुरानो भएकाले खेलका क्रममा दर्शकको सुरक्षाको विषयमा प्रश्न उठाएको हो । ‘फ्लड लाइट’ को विषयमा पनि प्रश्न गरिएको छ । दशरथ रङ्गशालामा रात्रिकालीन खेलका लागि जडान गरिएको ‘फ्लड लाइट’ को प्रकाश (उज्यालो) पर्याप्त नहरेको गुनासो आएपछि फिफा र एएफसीले यसप्रति चासो देखाएका हुन् । 

सन् १९९९ मा नेपालमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारले दशरथ रङ्गशालामा ‘फ्लड लाइट’ जडान गरिदिएको हो । आठौँ दक्षिण एसियाली खेलकुदलाई नै ध्यानमा राखी चीन सरकारले सातदोबाटोस्थित खेलकुद परिसरमा पौडी पोखरी र सुटिङ रेन्जलगायतका पूर्वाधार पनि निर्माण गरिदिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप