आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा ‘आमाको मुख हेर्ने दिन’ किन मनाउने ?

बुधबार, २६ वैशाख २०८१, १३ : ४९
बुधबार, २६ वैशाख २०८१

मातृदेवो भव । इति वेदः । यथा मातरः परमं तथा देवता न अन्यः इति मन्त्रः। माता गर्भस्थितः प्रेत्य भुञ्जानः न तु पूजयेत्। सर्वान् दशान् समादृत्य मातरं पूजयेत् ।

अर्थात् 

आमा भगवान हुन्, परमात्मा बराबर हुन्, आमाभन्दा ठुलो देवता र मन्त्र अरु केही छैन । गर्भमा हुँदा मात्रै आमाको सेवा गरेर पूर्ण हुँदैन, जीवनभर आमाको सेवा गर्नुपर्छ । मातालाई ब्रह्मा, विष्णु, रुद्र, इन्द्र लगायत दश दैवी रूपका समान मानेर पूजा गर्नुपर्छ ।

भनिन्छ— आमा, बाले देख्नुभन्दा पहिल्यै प्रेम गर्न सुरु गरेका कारण प्रेम अन्धो हुन्छ रे ।

संस्कृतमा एउटा श्लोक छ :

‘नान्नोदकसमं दानं तिथिर्नैकादशी समा, न गायत्र्याः परो मन्त्रः न मातुः परदैवतम् ।’

यसको अर्थ हो— ‘अन्न र पानी समान दान, एकादशी समान तिथि, गायत्री मन्त्र समान मन्त्र र आमाभन्दा ठुलो अर्काे देवता छैन ।’

हाम्रै नजिकै गाउँका एक युवा सहर आउँदै रहेछ । ऊ गाडी चढ्ने ठाउँमा अरु साथी पनि रहेछन्, उसकी आमाले गाडी चढ्ने ठाउँमा मकै–भटमास दिँदै गाडीको झ्यालबाट भनिछन्, ‘बाबु ! बाटोमा भोक लाग्ला, यो खाजा लिएर जा । यहाँ सातु पनि हाल्दिएकी छु, भोक लाग्दा खानू ।’

छोराले पुरानो टालेको लुगा लाएकी आमालाई देखेपछि साथीसँग लाज मान्दै झ्यालबाटै आमातिरै ती मकै फाल्दै भनेछ, ‘म किनेर खान सक्छु, पर्दैन ।’ 

तर पनि आमा खुसी थिइन्, किनकि छोरो भोकै हुँदैन किनेर खान सक्छ ।

आमाको खुसी त्यो बेला आँसुमा परिवर्तन भयो, जतिबेला उसलाई साथीले ‘उहाँ को हो ?’ भनेर सोधे । उसले भन्यो, ‘हाम्रो घरमा काम गर्ने नोकर्नी हो । मेरो धाईआमा ।’

उसले २० रुपैयाँको चुरोट एक घन्टामा दुईपटक उडाउँछ, उसकी आमाले उसको पढाइ खर्चको जोहो गर्न भनी २० रुपैयाँ जोगाउन गाडी नचढी दुई घण्टा पैदल हिँडेकी छन् । छोराले भने साथीको अगाडि इज्जत धान्न आमालाई ‘नोकर्नी’ बनाइदियो । 

सायद फेसबुक अथवा सामाजिक सञ्जालमा उसले फोटो पोस्ट गथ्र्याे भने उसले चिन्छन् कि भनेर नि भन्न सक्थ्यो आमा हुन् भनेर ।

भनिन्छ नि, मृत्युका लागि अनेक विकल्प छन्, तर जन्मका लागि एउटै विकल्प हुन् आमा ।

आमा भगवान् हुन् भन्नेहरू सायद कमै होलान् । आमालाई भगवान् मान्ने हो भने हामीले भगवान्लाई पनि एक दिन दिन्छौँ नि, विभिन्न पर्वका रूपमा होइन र ? चाहे त्यो कृष्णाष्टमीको नाममा होस् अथवा शिवरात्रिका रूपमा ।

जन्मदेखि मृत्युसम्मको यात्रामा हाँसो, खुसी, मिलन, सुख, आँसु, रोदन, विछोड, विरह, दुःखकष्ट आदिमा भेटिने सबै समय परिस्थिति अनुरूपका साथी होऊन् तर त्योसँगको मिलन गराउने निर्विकल्प एक मात्र सारथी हुन् आमा ।

संसारको सबैभन्दा धनी मान्छे पनि एउटै कुराको ऋणमा हुन्छ, त्यो हो मातृऋण । किनकि आमाको माया मात्र एउटा औषधि हो, जुन कहिल्यै डेट एक्पाएर हुँदैन । आफ्ना लागि बाँच्ने त धेरै हुन्छन्, तर सन्तानका लागि भए पनि बाँच्नुपर्छ भनेर सोच्ने एक मात्र व्यक्ति हुन् आमा ।

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन किन आमाको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । आमाको मुख हेर्ने दिन पो हो यो । आमाको मुख देखाउने दिन त भनेको छैन नि । भन्ने प्रश्नहरू पनि आउने गर्छन् ।

सधैँभरि मातापिताप्रति सम्मान हुनुपर्छ, तर कम्तीमा एक दिन आफूसँगै आफ्नो समुदाय र साथीसंगीसँग पनि जोड्नुपर्छ । जसले माया र विश्वासलाई प्रगाढ बनाउनेछ ।  

‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’, एक प्रसिद्ध संस्कृत श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा दुई रूपहरूमा भेटिन्छन् ।

पहिलो रूप :

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।

जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ।।

अर्थात्, 

मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ, तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ ।

दोस्रो रूप : 

यसमा रामले लक्ष्मणलाई भन्छन्, ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’

अर्थात्

‘लक्ष्मण, यो लङ्का सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन । किनकि जननि र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।’

किन स्वर्ग त कसैले देखेको छैन स्वर्गभन्दा माथि किन जाने ? प्रश्न उठ्नु स्वाभाविक हो ।

पौराणिक विश्वास अनुसार मानिसहरूको मृत्युपछि पाप नगर्नेहरूको वास स्वर्गमा  हुन्छ भन्ने विश्वास गरिन्छ । विश्वास अनुसार स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैँचा छ र त्यहाँ आनन्दले रहन पाइन्छ, तर हामीले आँखा बन्द गरेर एकछिन सोच्ने हो भने सायद आमाको काख नन्दन नामको स्वर्गको बगैँचा भन्दा कम हुन्न होला ।

अन्तर्राष्ट्रिय जगत्मा पनि मदर्स डे मनाइन्छ, जस्तो : अमेरिका क्यानडामा पनि मे महिनाको दोस्रो आइतबार मदर्स डे मनाइन्छ ।

आमाको मुख हेर्ने दिनमा फेसबुकमा फोटो पोस्ट गर्नुका फाइदा र कारण छन् ।

कृतज्ञताको सार्वजनिक अभिव्यक्ति : आफ्नी आमासँगका तस्बिरहरू साझेदारी गर्नाले तपाईंले उहाँलाई गरेको सबै कुराका लागि सार्वजनिक रूपमा धन्यवाद हुनेछ ।

दिगो स्मृति सिर्जना : तस्बिरहरू पोस्ट गर्दा तपाईंको आमाका लागि तपाईंको माया र प्रशंसाको डिजिटल रेकर्ड बनाउँछ । तपाईंले भविष्यमा यी तस्बिर सम्झन सक्नुहुन्छ ।

पारिवारिक रेकर्ड सिर्जना : समयसँगै, आमाको दिन फोटोहरूको सङ्ग्रहले तपाईंको परिवारको इतिहास र परम्पराहरू प्रदर्शन गर्न सक्छ ।

प्रेम र प्रशंसा : तपाईंले आफ्नी आमासँग साझेदारी गर्नुभएको खुसीका क्षण र सकारात्मक अनुभवहरू तस्बिरमा आएका छन् भने ती तस्बिर छानेर हार्दिकताको क्याप्सनसहित पोस्ट गर्न सक्नुहुन्छ । क्याप्सनमा आमाका लागि तपाईंको माया र प्रशंसा व्यक्त गर्ने विचारशील सन्देश राख्नुभयो भने त्यसले तपाईंको पोस्टमा व्यक्तिगत स्पर्श थप्नेछ ।

सम्झनुहोस्, जब सोसल मिडिया आमाको मुख हेर्ने दिन मनाउनका लागि रमाइलो तरिका हुन सक्छ, जसबाट आमाप्रतिको सम्मान थप्न, आफू उपस्थित भएको ठाउँमा आफूसँगै सहभागी गराउन, आफ्नो आमा आफ्नो सर्कलसँग परिचित गराउन तथा आफ्नो आत्मसन्तुष्टिका लागि सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नु फाइदाजनक हुनेछ ।

‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।।’

दुर्गा शप्तसतिको यो श्लोक को अर्थले भन्छ, ‘पुत्र कुपुत्र हुन सक्छ तर माता कुमाता बन्न सक्दैनन् ।’

आमालाई लिएर एउटा उखान छ :

भन्नजस्तो सजिलो, गर्न जस्तो गाह्रो

अन्नजस्तो औषधि, व्यथाजस्तो साह्रो

बाउजस्तो साथी र आमाजस्तो भान्से पाउन साह्रै गाह्रो ।

भनिन्छ, जूनले पनि हिम्मत गर्न सक्दैन रे आमाको सुन्दरतासँग प्रतिस्पर्धा गर्न । त्यसैले त आमाको मुख हेर्न दिन सधैँ औँसीमा पर्छ  ।

आमाबाबुको सम्पत्तिमा छोराछोरीको अधिकार भएजस्तै छोराछोरीको सम्पत्तिमा पनि आमाबाबुको अधिकार हुने कानुन बने वृद्धाश्रमको कमी हुन्थ्यो कि ?

गुरुणामेव सर्वेषां माता गुरुतरा स्मृता ।।

अर्थात्

सबै गुरुमा माता सर्वश्रेष्ठ गुरु हुन् ।

सबै आमाप्रति सम्मान गरौं । ह्याप्पी मदर्स डे ।

(लेखक खड्का सञ्चारकर्मी तथा ज्योतिष  हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनक खड्का
जनक खड्का
लेखकबाट थप