आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

आन्दोलनको स्पष्ट मार्गचित्र बनाउन कांग्रेस नेतृत्वलाई सुझाव

बुधबार, ०९ जेठ २०८१, १७ : २८
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा सहकारीको रकम ठगीविरुद्ध पार्टीले गर्ने भनेको सङ्घर्षको औचित्य र आवश्यकताबारे छलफल भएको छ । बैठकमा सहभागीहरूले आन्दोलनबारे पार्टीले स्पष्ट कार्यदिशा र धारणा बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले पार्टीले आन्दोलन घोषणा गर्दै गर्दा सहकारी पीडितलाई संरक्षण गर्न हो वा भ्रष्टाचारविरुद्ध हो अथवा संसदीय समिति बनाउन दबाब दिने उद्देश्यले भन्ने प्रस्ट हुनुपर्ने बताए । उनले बैठकमा बोल्ने अधिकांश नेताहरूले गृहमन्त्रीको राजीनामाका लागि आन्दोलन गर्ने हो भने त्यो आन्दोलन कहाँ गएर टुङ्गिने हो ? पार्टीले निर्धारण गर्नुपर्ने बताए । 

त्यस्तै कतिपय नेताहरूले पार्टीका कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्दा हैरान भइसकियो भनेर गुनासो आउने गरेको भन्दै पार्टी आफ्नो खुट्टामा उभिएर सडक प्रदर्शन गनुपर्ने धारणा समेत राखेका छन् । 

क्यान्टोनमेन्ट, गिरिबन्धु र कुकुल्यान्ड जस्ता घोटालाको पूर्ण भ्रष्टाचार नियन्त्रणका लागि लड्नुपर्ने पनि नेताहरूले बताएका छन् । पार्टीले अवसर पाउँदा पार्टीका ठुला ५ नेता बसेर निर्णय गर्ने तर अफ्ठेरो पर्दा सबैलाई किन बोलाउने भन्ने धेरै सदस्यको धारणा आएको काफ्लेले जानकारी दिए ।

उनले पार्टीका भ्रातृ सङ्गठनमा खल्तीका मान्छे हाल्दा सङ्गठन कहाँ छ ? भनेर सोध्नुपर्ने अवस्था आएको भन्दै यसमा गल्ती भयो भनेर सम्बन्धित नेताहरूले माफी माग्नुपर्ने समेत बताए । जारी बैठकमा महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन र ठगीविरुद्ध सडक र सदन दुवै स्थानबाट सङ्घर्ष गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए ।

आन्दोलनमा गिरीबन्धु टी स्टेटको जग्गा घोटालाको विषय समेत समेट्नुपर्ने आवाज उठेपछि त्यसलाई समेत समेटेर पार्टीले निर्णय गर्ने बताइएको छ । कांग्रेसले आइतबारदेखि आन्दोलन थाल्ने बताइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप