सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

सीटीईभीटले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने

आइतबार, १३ जेठ २०८१, १६ : १२
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने भएको छ । सीटीईभीटले विभिन्न कलकारखानामा लामो समयदेखि काम गर्दै आएर उक्त काममा दक्ष भएकालाई प्रशिक्षकको समकक्षता दिने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको १९९ औँ परिषद् बैठकले उक्त निर्णय गरेको हो । कार्यस्थलको सिकाइमा आधारित तालिमलाई संस्थागत गर्न उद्योगधन्दा तथा कलकारखानामा काम गर्न सक्षम र दक्ष प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइएको छ । त्यसका लागि तालिम विकास महाशाखाका निर्देशकको नेतृत्वमा ‘औद्योगिक प्रशिक्षार्थी विनियमावली’ निर्माण गर्न कार्यदल गठन गरिएको छ । यो विनियमावलीको निर्माण पछि उद्योग क्षेत्रको अनुभव भएका व्यक्तिलाई प्रशिक्षकको रुपमा समकक्षता दिइने निर्णय गरेको हो ।

परिषद् श्रम बजारको माग अनुसारका कार्यक्रमलाई प्राथमिकता दिने समेत निर्णय गरेको छ । कार्यक्रम सम्बन्धनको क्रममा श्रम बजारमा अत्यधिक माग भएका कार्यक्रमहरूलाई (Shadow Teachers for Special Needs, Short IT Courses on Digital Marketting, Design and Social Media Marketing) लगायतका प्राथमिकता राख्ने निर्णय गरेको हो ।

यसका लागि पाठ्यक्रम निर्माण नभएको अवस्थामा परिषद्मा उपलब्ध स्रोतको परिचालन गर्ने र त्यसक्रममा आवश्यक पर्ने थप स्रोतका लागि अन्य निकायहरूसँग समन्वय गर्ने निर्णय परिषद् बैठकले गरेको हो ।

त्यस्तै परिषदबाट सञ्चालन हुने प्रवेश परीक्षा, परीक्षा सञ्चालन र सम्बन्धन प्रक्रियाको समय तालिका (Academic Calender) राष्ट्रिय चिकित्सा शिक्षा आयोग र अन्य निकायसँग तालमेल हुने गरी निर्माण गरी प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रम सम्बन्धनका विषयमा विनियमावली संशोधन गरेर मात्रै निर्णय गर्ने भएको छ । विनियमावली निर्माणका लागि स्तर निर्धारण महाशाखाका निर्देशकको नेतृत्वमा ‘कार्यक्रम सम्बन्धन विनियमावली निर्माण कार्यदल’ गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदललाई एक महिनाको समय दिइएको छ । सम्बन्धनका प्रक्रियामा रहेका सबै निवेदनको अवस्था पारदर्शीताका लागि वेबसाइटमा राख्ने समेत निर्णय गरेको छ । 

हालसम्म सम्बन्धनका विषयमा गरिएका अध्ययन प्रतिवेदन परिषद्का पदाधिकारीलाई उपलब्ध गराउने पनि निर्णय भएको छ । सम्बन्धनका विषयमा प्रक्रियामा रहेका संस्थाको यकिन विवरण र सम्बन्धन प्रक्रियाको ढाँचा (Affiliation Process Flow Chart) समेत वेबसाइटमा राखिने छ ।  

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय कार्य टोलीको म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ ।

परिषद्को दरबन्दी व्यवस्थापन गर्न तथा स्वीकृत दरबन्दीहरूमा समयसापेक्ष र समयानुकूल व्यवस्थापन गर्न एक कार्यदल गठन गरिएको छ । शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा संगठनात्मक तथा व्यवस्थापन सर्भेक्षण कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप